साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कथाकार विश्वराज अधिकारी र खेमराज पोखरेलको संयुक्त आख्यानात्मक कृति “रनाहा” प्राप्त भएको छ ।

यसमा विश्वराज अधिकारीको ‘डान्सबार र सर्जन’, ‘भोक’लगायत ८ थान, खेमराज पोखरेलको ‘डायरीको डाम’, ‘टुप्पी’लगायत ८ थान जम्माजम्मी १६ थान यौनकथा समावेश छन् । कथामा समाज छ, यथार्थ छ, त्यस्तै समस्या पनि छ र समाधान पनि छ । यौन तथा यौनमनोविज्ञानलाई सशक्त र गतिशील भाषामा प्रस्तुतीकरण गरिएको देखिन्छ । विविध पात्रको संयोजनले पनि कथाहरू रोचक र जीवन्त छन् ।

विश्वराज अधिकारीको कथामा लेखिएको छ,

“‘पहिले, सुरेश राति पलङमा, मेरो छेउमा सुत्नासाथ ढुङ्गा हुन्थ्यो । त्यो ढुङ्गा केवल पाँच बजे जीवित हुन्थ्यो अनि हतारिँदै त्यो ढुङ्गा सात बजे अस्पताल पुग्थ्याे ।’

‘आजभोलि नि?’

‘आजभोलि त कुरा नै नगर । त्यो ढुङ्गाले कहिलेकाहीँ त रातभरि सुत्न पनि दिँदैन, यार । दुःख दिन्छ । तर सुरेशले आनन्ददायी दुःख दिन्छ । उफ् सुरेश ’”

खेमराज पोख्रेलको कथामा लेखिएको छ,

“फ्रेडरिकलाई छोडी दिएँ । ऊ त एकदम पढाकु रहेछ । चिप्पु पढाकु । नो टाइम फर मी । एकदम सुखा जिन्दगी । ऊ रसिलो मान्छे होइन । रस निकालेको कागतीको खोस्ताजस्तो । एनाटोमीका कङ्काल पढ्दापढ्दै, पढाउँदापढाउँदै कङ्काल नै भएको छ । सेन्सलेस भएको छ । बिलकुल मान्छे होइन । ऊ तिमीजस्तो माई डियर मान्छे त झन् हुँदै होइन । तर के गर्ने ? तिमी मेरो लोग्ने भएर पनि के लोग्ने भएनौ ।”

मोलुङ फाउन्डेसनले बजारमा ल्याएको, १ सय ८४ पृष्ठमा बुनिएको पुस्तकको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।