साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि तथा गीतकार सागर फुयालकाे कविता र गीतसङ्ग्रह “आफैँलाई  खोज्न मन छ” प्राप्त भएको छ ।

नेपाल स्रष्टा समाजले प्रकाशन गरेको यस पुस्तक १ सय ४८ पृष्ठमा आबद्ध छ ।

कथासङ्ग्रह र गीतसङ्ग्रह गरी दुई भागमा विभाजित यस पुस्तकमा ‘शुभकामना’, ‘दोष नबोक्नु आफूले’, ‘साथ पाएँ’, ‘ढुङ्गा र देवता’लगायत ४० थान कविता र ‘नेपाल हेर्दै छ तिमीलाई’, ‘किन हाँसेर व्यर्थै रुवाउँ तिमीलाई’, ‘यो शहरको रमझममा’, ‘के अर्थ छ’लगायत ४० थान गीतहरू समावेश छन् ।

भूमिकामा रोचक घिमिरे लेख्छन्, “सत्य कथन लाग्छ यो । आफ्नो ब्राह्मले देखेको कुरालाई शब्दमा उतार्नु नै वास्तविक सृजनात्मक हो । यस विपरीतको सृजना कृत्रिमताको आवरणमा बेरिएझैँ लाग्छ । अनि निरर्थक र नक्कली त्यस्तो सृजनाको सार्थक उपादेयता रहँदैन । कवि फुयालले आफ्नो ब्रह्म अर्थात् अन्तस्करणको अनुभूतिलाई नै कविता र गीतको रूप दिएका छन् । अतः पठनीय र चित्ताकर्षक अनि स्वाभाविक लाग्छन् ती ।”

“यस रचनामा छ, उहाँको लचकता, विषयवस्तु व्यापक छ, आजभोलिको एउटा कटु सत्य । सानो नानीले परदेशमा अन्धकार देखेको, सुनसान देखेको कुरा एउटा यथार्थ हो । कविता त्यही सानो नानीले गाँठो पारेको जुत्ताको तुना झैँ कसिएको छ । स्वयंले भोगेको एउटा यथार्थ ।” भूमिकामा किशोर पहाडी लेख्छन्, “कविता भन्नु आफैँले भोगेको एउटा यथार्थ त हो । भोगेका यथार्थहरूको मन्थन हो । विचारका पुलिन्दा कवितामा आफ्नै भोगाइहरूद्वारा नै आउने गर्दछ ।”

पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ,

“अस्तित्वसँग 

भोलि घाम उदाउनुपर्ने शर्तमा 

बास बस्न उडेका चखेवा हेर्दै 

रंगीन बादलभित्रको दुनियाँमा 

रमाएर डुबेका घाम हेर्दै 

एउटा बैँशालु साँझमा 

आफैँलाई खोज्न मन छ ।” 

पुस्तकको मूल्य २ सय ५५ रुपियाँ रहेको छ ।