हास्यव्यङ्ग्यका क्षेत्रमा लोकप्रिय ‘वासुदेव लुइँटेल पुरस्कार’ यस वर्षका लागि हास्यव्यङ्ग्यकार चटयाङ मास्टरलाई प्रदान गरिने भएको छ । वासुदेव–विद्यादेव लुइँटेल गुठीका अध्यक्ष प्रा.डा. सुष्मा आचार्यले प्रेस विज्ञप्ति जारी गरी उक्त जानकारी दिनु भएको हो ।

वि.संं.२०५० सालमा स्थापित वासुदेव–विद्यादेव गुठीले हास्यव्यङ्ग्य साहित्य, कला र अभिनयको क्षेत्रमा कार्यरत र जनमानसमा प्रसिद्धि कमाएका प्रतिभाहरूमध्येबाट छनौट गरी ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गर्दै आएको छ ।

विज्ञप्तिअनुसार हास्यव्यङ्ग्य क्षेत्रका धरोहर वासुदेव लुइँटेलको नाममा स्थापित ‘वासुदेव लुइँटेल पुरस्कार’ यसपटक ‘चट्याङ मास्टर’ नामले चिनिएका कृष्णमुरारि गौतमलाई प्रदान गरिने भएको छ । ‘वासुदेव–विद्यादेव लुइँटेल गुठी’ले हास्यव्यङग्यकार ‘चट्याङ मास्टर’ लाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, प्रतिक चिन्ह र कदरपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

विशेष समारोहको आयोजना गरि आगामी भदौ २३ गते चट्याङ मास्टरलाई प्रदान गरिने कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली हास्यव्यङ्ग्यका अभिभावक मानिनु हुने वासुदेव लुइँटेल जीवितै हुँदा रु. १३ लाख अक्षयकोषमा राखि २०५१ सालदेखिनै यो पुरस्कार प्रदान गरिँदै आएको छ । नेपाली हास्यव्यङ्ग्यका शिद्धहस्त र ख्यातिप्राप्त स्रष्टा एवम् कलाकारहरूले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।

भूतको भिनाजु, नैकापे काका आदिका नामले सुपरिचित वासुदेव लुइँटेल र भैरव अर्यालको सक्रियतामा कौवा प्रकाशन स्थापना गरी २०२० कै दशकमा ‘छ्याकन’, ‘काउकुती’, ‘गलबन्दी’, ‘भालु पुराण’ ‘भूत छैन’, ‘डाढो’, ‘भीमसेन पाती’ जस्ता हास्यव्यङ्ग्य पुस्तकहरू प्रकाशित भएका थिए ।

यो बहुचर्चित र लोकप्रिय पुरस्कार प्राप्त गर्नुहुने चटयाङ मास्टर नेपाली हास्यव्यङ्ग्यका कुशल शिल्पी हुनुहुन्छ । उहाँका ‘चट्याङ–गीता’ नामका ७ वटा हास्यव्यङ्ग्य कृति प्रकाशित छन्, सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष चट्याङ मास्टरले पछिल्लो चरणमा हास्यव्यङ्ग्यको संस्थागत संवर्धन र विकासमा उल्लेखनीय योगदान प्रदान गर्नु भएको छ ।