पाँच जना सर्जकले एकसाथ साइनोसङ्ग्रह सार्वजनिक गरेका छन् । साइनो वाङ्मय चौतारीको पाँचौं वार्षिक उत्सवको अवसरमा एकसाथ पाँच सर्जकले पाँचवटा सङ्ग्रह सार्वजनक गरेका हुन् ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कूलपति भूपाल राईको उपस्थितिमा साहित्यकार शेखर अर्यालको ‘साइनो मञ्जरी’, जमुना कायस्थको ‘साइनोका मुनाहरू’, छायादत्त न्यौपानेको ‘साइनो सिर्जना’, सिता सुवेदी पन्थीको ‘साइनो सुमन’ र संस्थागत रूपमा साइनो वाङ्मय चौतारीको ‘साइनो चौतारी’ सङ्ग्रह सार्वजनिक गरिएको हो ।

पाँच सङ्ग्रहको विमोचन गर्दै प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले साइनो विधा विस्तार हुँदै गएको बताए । उनले हरेक क्षेत्रमा आफ्नो अस्तित्व विस्तार गर्न नयाँ नयाँ शैलीको प्रयोग हुने गरेको भन्दै साहित्य क्षेत्रमा साइनो विधा कविताको उपविधाका रूपमा देखिएको बताए ।

शेखर अर्यालको साइनो मञ्जरीमाथि समीक्षा गर्दै साहित्यकार विष्णु ज्ञवालीले सङ्ग्रहभित्र ३०९ वटा रचना रहेको जानकारी गराए । उनले साइनो मञ्जरीले अहिले राजनीति परिस्थितिलाई व्यङ्ग्य प्रहार गरेको तथा कोभिड महामारीमा समाजमा देखिएको प्रभावलगायतका विषय उठान गरिएको पनि बताए ।

साइनो ७, ८ र ९ शब्द संरचनाले बन्ने तीन लाइनको कविता विधा हो । यो विधाको सुरूआत २०७६ सालबाट सुरू भएको हो ।