कवि सागर फुयालको कविता तथा गीतहरू समावेश काव्यकृति ‘आफैँलाई खोज्न मन छ’ सार्वजनिक भएको छ । एक समारोहका बिच अग्रज साहित्यिक पत्रकारहरू नगेन्द्रराज शर्मा, रोचक घिमिरेलगायतले कृतिको लोकार्पण गरेका हुन् ।

कृति विमोचनपश्चात् अनौपचारिकताका बिच लोकार्पित कृतिमाथि परिचर्चा गरिएको थियो ।

काठमाडौंमा नेपाल स्रष्टा समाजले आयोजना गरेको अनौपचारिक कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कृतिकार फुयालको काव्यकारिताको चर्चा गरे । सो अवसरमा अग्रज साहित्यक पत्रकारहरू शर्मा र घिमिरेले फुयालको लेखन निरन्तरताको लागि शुभकामना दिए । राधेश्याम लेकालीले कवि फुयालले एउटैमा भन्दा गीतको बेग्लै र कविताको बेग्लै कृति ल्याएको भए बेस हुने सल्लाह दिए ।

गायक शिव परियारले गीत सङ्गीतका क्षेत्रमा शब्द रचनाको महत्वपूर्ण भूमिका हुने बताउँदै शब्द रचनाको भाव र मर्मले नै स्रोतालाई छुने उल्लेख गरे । कार्यक्रममा सागरकाे शब्द रचना तथा शिव परियारको स्वर तथा संगीत रहेको गीतको म्युजिक भिडियो पनि देखाइयो ।

परराष्ट्र सेवा अन्तरगत जर्मनीमा रहँदै आएका कवि फुयालले आफ्ना केही कविताहरू वाचन गर्दै साहित्यप्रति रुचि राख्ने सहकर्मी साथीहरूले आफ्नो लेखनीमा उर्जा दिएको बताए ।

कार्यक्रममा पवन आलोक, किशोर पहाडी, धीरकुमार श्रेष्ठले बोलेका थिए । कविताकृति नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएको हो ।