नेपाली समाज टेक्सास, नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र र ग्लोबल नेपाली स्कुलद्वारा आयोजना गरिएको साँस्कृतिक तथा अध्यात्मसम्बन्धी एक साता लामो गर्मी शिविर सुरु भएको छ ।

टेक्सासको युलेशस्थित पशुपतिनाथ बुद्ध मन्दिरको सभाकक्षमा सन्चालन भइरहेको उक्त शिविरमा ड्यालस/फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायका १ सय ७४ बालबालिका तथा ५४ जना स्वयंसेवक बालबालिकाहरूको सहभागिता रहेको छ ।

उक्त शिबिर आगामी अगष्ट महिनाको ५ तारेखसम्म सन्चालन हुने छ ।

गर्मी मौसममा विद्यालय बिदा हुने भएकाले बालबालिकाहरुलाई नेपाली भाषा, संस्कृति, धार्मिक तथा अध्यात्मिक विषयमा थप ज्ञान दिन गर्मी शिविर आयोजना गरिएको आयोजकले बताएको छ ।

उक्त शिविरमा अन्तराष्ट्रिय आध्यात्मिक गुरु डाक्टर चिन्तामणीनाथ योगीद्वारा अध्यात्मिक जागरणसम्बन्धी प्रेरक कथाहरू, योगा तथा ध्यानलगायतका विभिन्न नेपाल चिनाउने धार्मिक, साँस्कृतिक, आध्यात्मिक ज्ञान दिने कार्यक्रम रहेको छ भने अन्य स्वयंसेवकहरूले मनोरन्जन, आपतकालीन चिकित्सा जागरण, साथी बनाउने, आत्मबल विकास, कलेजको लागि बचत संकलनजस्ता विषयमा जानकारी दिने कार्यक्रम रहेको नेपाली समाज टेक्सासद्वारा सन्चालित ग्लोबल नेपाली स्कुलका संयोजक भोजबहादुर बलायरले जानकारी दिनु भयो ।

संयोजक भोजबहादुर बलायरका अनुसार शिविरमा अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरुलाई साँस्कृतिक तथा अध्यात्मिक बिषयमा ज्ञान दिईने भएकाले नेपाल प्रतिको निकटता बढ्नुका साथै नेपाली सँस्कृति तथा अध्यात्मिक ज्ञान पुस्तान्तरण गर्न सहयोग पुग्ने छ ।

कार्यक्रममा नेपाली समाजका सदस्य विजय भुषालले स्वागत गर्नुभएको थियो भने ग्लोबल नेपाली स्कुलका प्रिन्सिपल पशुपति तिम्सिनाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै शिबिरमा पालना गर्नु पर्ने नियमको बारेमा जानकारी गराउनु भएको थियो ।