पोखरामा गायक अरुण थापाको स्मृतिमा साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले २४ औं अरुण थापा स्मृति दिवसका अवसरमा समता साङ्गीतिक कार्यक्रम शनिबार सम्पन्न गरेको हो ।

पोखराका सङ्गीत प्रशिक्षण स्कुलका प्रशिक्षार्थीहरुले अरुण थापाका गीत गुनगुनाएका थिए ।

भारतको कोलकातामा जन्मेका अरुण बुबा गञ्जुप्रसाद नेपाल बैंकको क्षेत्रीय प्रबन्धक भएर पोखरा आउँदा सँगै आए । रसरंगमा रमाउने अरुणले पोखरामा छोटो अवधिमा प्रशस्तै साथी बनाए । यहाँ हुने विभिन्न कार्यक्रमहरूले उनले जादुमय स्वरबाट पस्केका गीतबाट मन्त्रमुग्ध हुने उत्तिकै थिए । स्टेजमा उनले गाएका कालजयी हिन्दी गीतकै कारण केटी साथीहरू उनका पछि लाग्थे । पढाइका लागि उनी पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । स्ववियुले राखेको स्वागत कार्यक्रममा उनले किशोर कुमारको गीत ‘मेरा जीवन कोरा कागज’ प्रस्तुत गरे ।

त्यही गीतका कारण उनको जीवनमा प्रेमको टुसा पलायो । पिएनकै एक छात्राको प्रेम प्रस्ताव उनले स्वीकारे । केही समय उनको जीवन रंगीन भयो । प्रेमिकाको प्रोत्साहन मिलेपछि सङ्गीतकर्मलाई उनले दमदार रुपमा अघि बढाए । प्रेम सम्बन्धलाई त्यो जोडीले काठमाडौं पुगेर बिहेमा परिणत गर्यो । तर प्रेमको टुसा छिप्पिन पाएन । युवतीको परिवारले यो बिहेलाई स्वीकार गरेन । युवतीलाई पोखरा फिर्ता ल्याइयो । अनि सुरु भयो अरुणको वियोगको कथा ।

अरुणले आफ्नो जीवनमा ४ दर्जनको हाराहारीमा गीत गाए । उनको पहिलो गीत विक्रम गुरुङले लेखेको ‘कतै तिमीबाट टाढा भएमा’ हो । जुन रेडियो नेपालमा रेकर्ड भएको थियो । तर अरुणलाई गायक भनेर चिनाउने गीत भने विनोद गौचनको ‘जति माया लाए पनि‘’ हो । त्यसपछि अरुणलाई गीतकार र सङ्गीतकारले खोज्न थालेको कवि एवं साहित्यकार तीर्थ श्रेष्ठ बताउँछन् ।

गायक अरुणको २४ औं स्मृति दिवसको सन्दर्भमा गरिएको कार्यक्रममा नयाँ पुस्ताका गायक गायिकाले उनका गीतहरू प्रस्तुत गरे । प्रदीप सारु मगर, लवकुश पुन, टीना गुरुङ, यामबहादुर नेपाली, सुनील बराल, रोम तामाङ, जय चापागाईं र एमडी काफ्लेले अरुणका गीत प्रस्तुत गरे । वाद्यवाधनमा रोम तामाङ, बिकाश गुरुङ, बिमल गायक, मिलन गिरी, प्रतिक शर्माले प्रस्तुती दिएका थिए । कार्यक्रम संयोजन पोयुसापका संगीत संयोजक एमडी काफ्लेले गरेका थिए । कार्यक्रममा पोयुसापका अध्यक्ष उपेन्द्र पौडेलले अरुणलाई नयाँ पुस्तामा चिनाउन अर्थात् पुस्तान्तरणका लागि यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा गायक विनोद बानिया, रीता अधिकारी, डा चैतन्य अधिकारीले समेतले बोलेका थिए ।