नेपालको पुलिसिङ शैलीमाथि लेखिएको पुस्तक ‘इनह्यान्सिङ पुलिसिङ इन नेपाल’ सार्वजनिक गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रमुख डा. मनोज केसीले लेखेको पुस्तक शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका अध्यक्ष बालानन्द शर्मा, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सेन्टर अफ पिस एण्ड कन्फिल्क्ट स्टडिजका अध्यक्ष डा. एमममा लेस्लीले संयुक्त विमोचन गरेका हुन् ।

समारोहमा बोल्दै नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्माले डा. केसीले लेखेको पुस्तक सम्भवतः नेपालको पुलिसिङ शैलीमाथि लेखिएको पहिलो पुस्तक भएको बताए । उनले भने, ‘यो व्यक्तिगत रुपमा डा. केसीका लागि ठूलो सफलता त हो । यसले संगठन र राष्ट्रका लागि पनि महत्वपूर्ण योगदान पुर्याएको । पुस्तकमा केसीले द्वन्द्वपछिको परिस्थितिमा प्रहरीले आफ्नो ढाँचा र पुलिसिङमा कसरी परिवर्तन ल्याउने भन्ने विषयमा पनि सूक्ष्म विश्लेषण गरेका छन् ।’

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवामा रहेकै बेला बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा पनि योगदान दिनका लागि समय निकालेको भन्दै केसीको प्रशंसा गरे ।आमजनताको बुझाइमा प्रहरी भनेको अझै पनि फिल्डमा गएर ढाल, डन्डा, लठ्ठी र बन्दुक बोकेर खट्ने संगठन भन्ने रहेको भन्दै उनले भने, ‘यस पुस्तकले त्यो बुझाइ परिवर्तन गराउन भूमिका खेल्नेछ भन्ने विश्वास छ ।’

केसी विगत २५ वर्षदेखि नेपाल प्रहरीसँग आबद्ध छन् । उनीसहितका अधिकृतहरूको नेतृत्वमा नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी अनुसन्धान अघि बढेको थियो ।