‘बोलेको कुरा गरेर देखाउन थालेपछि थोरै बोल्न करै लाग्छ’’ भन्ने मूलमन्त्र अंगीकार गरिएको कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा थापाको १०१ औं जन्म स्मृति सभा तथा बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार समर्पण समारोह सम्पन्न गरिएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा गुठीका अध्यक्ष तथा काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माको अध्यक्षता तथा त्रिविविका पूर्व उपकुलपति प्रा. केदारभक्त माथेमाको प्रमुख आतिथ्यता एवं विशिष्ट अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारी, पूर्व उपप्रधान तथा गृहमन्त्री कमल थापा तथा पूर्वमन्त्री शशी श्रेष्ठलगायत नेपाल सरकारका पूर्वसचिव भरतबहादुर थापा एवं नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेल, आयोजक सदस्य अरुणविक्रम थापालगायत गुठीका सल्लाहकारहरुको आतिथ्यतालगायत हजारौं जनमानसको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि त्रिविविका पूर्व उपकुलपति प्रा. केदारभक्त माथेमाद्वारा नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई दुई लाख बाईस हजार दुई सय बाईस नगद राशिसहित प्रमाण पत्रद्वारा ‘सेवा पुरस्कार २०८०’ले सम्मानित गरिएको थियो । साथै विशिष्ट अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीद्वारा ‘बद्रीविक्रम राष्ट्रिय गौरव’ पुरस्कारबाट पूर्वसचिव भरतबहादुर थापालाई दुई लाख बाईस हजार दुई सय बाईस नगद राशिसहित प्रमाण पत्रद्वारा सम्मानित गरिएको थियो । त्यस्तै, ‘बन्दना तथा बद्रीविक्रम थापा चरित्रनिर्माण पुरस्कार’बाट हिन्दु विद्यापीठ नेपाल, थलीकी छात्रा प्रतिमा सापकोटालाई डा. लोकविक्रम थापाद्वारा दश हजार नगद राशिसहित प्रमाणपत्रले सम्मानित गरिएको थियो ।
यसैक्रममा गुठीले नियमित रुपमा प्रदान गर्दै आएको आर्थिक सहयोग यसपटक श्रमिक बालविज्ञान आधारभूत सामुदायिक विद्यालय पुल्चोक-३ ललितपुरका प्राध्यानाध्यापक परशुराम बराल तथा श्रीकृष्ण प्रणामी निजानन्द बृद्धाश्रम पुल्चोक ललितपुरका प्रतिनिधि विवेक बन्जारालाई प्रदान गरिएको थियो । साथै, बद्रीविक्रम थापा श्रम सम्मान पुरस्कारबाट तपाहिटी पाटनका कुलरत्न खड्गी र न्हेछुमाया शाहीलाई जनही पच्चीस हजार नगद राशिसहित प्रमाण पत्रद्वारा सम्मानित गरिएको थियो ।
उक्त कार्यक्रममा उपस्थित जनमानसलाई चिन्तामणि योगीद्वारा स्वागत मन्तव्य राखिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल पोखरेलद्वारा विराट् व्यक्तित्व कर्मयोगी बद्रीविक्रम थापा स्मृति कोषको गरिमामय पुरस्कारबाट आफूलगायत नेपाल आँखा अस्पतालसमेत सम्मानित हुन पाउँदाको क्षण सम्झँदा भावविभोर हुँदै त्यस्ता यशस्वी व्यक्तित्वको नामबाट आफूले नेतृत्व गरेको संस्था सम्मानित र पुरस्कृत हुन पाएकोमा आफूले देश र समाजको लागि थोरै भए पनि योगदान गरेको रहेछु भन्ने बोध भएको र पुरस्कार राशिबाट प्राप्त रकमले आगामी दिनमा संस्थाकै उन्नयनका लागि व्यवस्थित गरिने विचार व्यक्त गरेका छन् ।
यसैक्रममा अर्का सम्मानित व्यक्तित्व नेपाल सरकारका पूर्वसचिव भरतबहादुर थापाद्वारा नेपालको प्रशासनिक एवं समाजसेवा क्षेत्रका विलक्षण व्यक्तित्व कर्मयोगी बद्रीविक्रम थापाका बारेमा प्रकाश पार्दै प्राप्त पुरस्कारले आफूलाई उत्साहित बनाएको विचार व्यक्त गर्दै बद्रीविक्रम थापाको १०१ औं जन्मजयन्तीका अवसर पारेर आफूलाई ‘बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार २०८०’ बाट सम्मानित गरिएकोमा हार्दिक आभार व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा पूर्व उपप्रधान तथा गृहमन्त्री कमल थापाद्वारा ‘कर्मयोगी बद्रीविक्रम थापा’ जस्तो निश्पक्ष र पारदर्शी प्रशासन सञ्चालक एवं सादा जीवन उच्च विचारका संवाहकको स्मृति दिवसमा सहभागीता जनाउन पाउँदा गौरवान्वित महसूस हुने बताउँदै उनको योगदानका बारेमा चर्चा गरेका छन् । यसैक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीद्वारा सानै उमेरमा राणा शासनबाट देशलाई मुक्ति दिलाउन विशेष भूमिका निभाउने बद्रीविक्रम थापाको योगदानको बारेमा चर्चा गर्दै गुठीले सामाजिक सेवा तथा विविध क्षेत्रमा पुर्याएको योगदानका बारेमा चर्चा गरेका छन् ।
प्रमुख अतिथिको भूमिकामा रहेका त्रिविविका पूर्व उपकुलपति प्रा. केदारभक्त माथेमाले सामाजिक क्षेत्रका विराट व्यक्तित्वहरुलाई आफ्नो हातले सम्मानित गर्न पाउनु गौरवको विषय भएको बताउँदै राष्ट्रिय भावनालाई जनमनमा कसरी वृद्धि गर्दै लैजान सकिन्छ भन्ने विषयमा कर्मयोगी बद्रीविक्रम थापाको अनुकरणीय जीवनशैली निष्काम समाजसेवाका बारेमा विमर्श गरेका थिए ।
उक्त कार्यक्रममा ‘सेवा नेपाल’ सत्यमोहन जोशी स्मृति अङ्क २०८० लोकार्पणसमेत गरिएको थियो । राजेश खनालद्वारा आकर्षक रुपमा सञ्चालित उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।