काठमाडौँको थाहा पुस्तकालयमा पेन नेपालले पुस्तक विमोचन तथा कवितावाचन कार्यक्रम आयोजना गर्यो । पेन नेपालका सल्लाहकार साहित्यकार प्रकाश ए राजको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ कवि तथा साहित्यकार एवम् पेन नेपालका संस्थापक सदस्य मञ्जुल हुनुहुन्थ्यो भने विशिष्ट अतिथि हङ्गेरीका लेखक ओलिभर सिफ्लिस हुनुहुन्थ्यो ।
कार्यक्रममा पेन नेपालले पेन इन्टरनेशनलको शतवार्षिकी वर्षको सन्दर्भ पारेर अङ्ग्रेजी भाषामा प्रकाशन गरेको कथा तथा निबन्धहरूको सङ्ग्रह द हिमालयन हेड्सको विमोचन गरिएको थियो । विमोचित कृतिमाथि कवि विधान आचार्यले विवेचना गर्नुभएको थियो ।
यसैगरी, लेखक ओलिभरले आफ्नो लेखन तथा हङ्गेरीको समकालीन साहित्यको बारेमा संक्षिप्त चर्चा गर्नुभएको थियो । हिरण्यकुमारी पाठकले समेत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बमबहादुर थापा जिताली, विष्णुबहादुर सिँह, टङ्क उप्रेती, सुवाससिँह पराजुली, ज्योति जङ्गल, रुपसिँह भण्डारी, नन्दु उप्रेती, दिपक चौँलागाईं, देवेन्द्र केसी, भोजकुमार धमला, निलिमा मास्के श्रेष्ठ, शिरोमणि दवाडी, तीर्थराज भट्ट, वीरबहादुर लोहनी, टेकबहादुर लौडारी, विधान आचार्य, मञ्जुल र भीष्म उप्रेतीले कवितावाचन गर्नुभएको थियो ।
पेन नेपालका सचिव भीष्म उप्रेतीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि मञ्जुलले सबै कविको कविता आ–आफ्नै किसिमको सुन्दर रहेको भन्दै पेन नेपालको स्थापनामा स्वर्गीय ग्रेटा राणा तथा स्वर्गीय शान्ति मिश्रको ठूलो भूमिका रहेको स्मरण गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।