साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई  अनुसन्धानात्मक विज्ञ बद्रीप्रसाद ढकालकृत पुस्तक ‘हाम्रो पत्रकारिताको हाते पुस्तक’  प्राप्त भएकाे छ ।

प्रस्तुत पुस्तक ‘सञ्चार र आमसञ्चार’देखि लिएर ‘पत्रकारिता र सामाजिक उत्तरदायित्व’लगायत आठ अध्यायहरूमा विभाजित छ । पत्रकारिताको सिद्धान्तलाई आधार बनाएर पत्रकारिताका विभिन्न पक्षको सटिक विश्लेषण गरिएको यो पुस्तक खोजमूलक ढाँचामा संरचित छ । पुस्तकले समाचार लेखनको ढाँचाको समेत राम्ररी चित्रण गरेको छ ।

भूमिकामा नवराज रिजाल लेख्छन्, “प्रस्तुत विषयक पुस्तकभित्र आमसञ्चार र पत्रकारिता, समाचारका मूलभूत सिद्धान्त, परिचय, परिभाषा, तत्त्व र प्रकार जस्ता विषयलाई अत्यन्तै सरल र सहज भावमा प्रस्तुत गरिएको छ । सम्पादन कार्यको गहन विषयलाई उठान गरेर व्याख्या र विश्लेषण समेत गरिएको छ । पत्रकारिता के हो त ? जान्न खोजिरहेका, भर्खरै प्रवेश गरेका र पत्रकारितालाई पेसा बनाइरहेकाहरूका लागि यो पुस्तक अत्यन्तै महत्त्वपूर्ण छ । यसको अलावा ‘पत्रकारिताको हाते पुस्तक’विषय अध्ययन अध्यापन गराउनेहरूका लागि त झन् यो पुस्तक अझ धेरै सहयोगी हुनेछ ।”

भुँडीपुराण प्रकाशनबाट बजारमा ल्याइएको १ सय १० पृष्ठमा आबद्ध यस पुस्तकको मूल्य २ सय २० रुपियाँ रहेको छ ।