साहित्यपोस्ट

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आफ्नो २९ औँ वार्षिक साधारणसभा तथा केन्द्रीय कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रम आगामी अगस्ट २, २०२० मा गर्ने निर्णय गरेको छ । सो निर्णय संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको हो ।

अनेसासको हालै सप्पन्न निर्वाचनले जापानका प्रकाश पौडेल माइलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । बैठकले सोही दिन भानु जयन्तीको पनि आयोजना गर्नेछ । सो अवसरमा “अनेसास भानु विषेश सम्मान २०२०” बाट भानु प्रतिष्ठान (नेपाल) सम्मानित हुने कुरा साहित्यपोटसँग अनेसासका महासिचव गणेश घिमिरेले बताए ।

यसैगरी अनेसास भानु सम्मानबाट स्रष्टाहरू प्रभा आचार्य, डा. देवी नेपाल, बलराम दाहाल, दुर्गा रिजाल, सरु गुरागाईलगायतका स्रष्टाहरू पनि सम्मानित हुने जनाइएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजना गरिने सो कार्यक्रममा विभिन्न संचार माध्यमहरू पनि सम्मानित हुने जनाइएको छ ।

सो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने र कार्यक्रममा अनेसासका केन्द्रीय कार्यसमिति, नवनिर्वाचित कार्यसमिति, सस्थापक एवं पूर्वअध्यक्षहरूको सल्लाहकार समिति, BOT कार्यसमिति, निर्वाचन समिति, पुरस्कारदाताहरू, च्याप्टर अध्यक्षहरूलगायतको उपस्थिति हुने पनि जनाइएको छ ।

बैठकले हालै सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेकोमा निर्वाचन समिति, संचार माध्यमहरू र मतदाताहरूमा धन्यवाद पनि ज्ञापन गरेको छ ।

यस कार्यक्रमअघि संस्थाले अनेसास, जर्जिया च्याप्टरको सहकार्यमा भाषाशास्त्री महानन्द सापकोटाको जन्मजयन्ती आगामी जुलाई ३१ मा आयोजना गर्ने पनि जनाएको छ ।