धरान–१८ बुद्धचोकस्थित कवि ‘विमल गुरुङ स्मृति पुस्तकालय’ले राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान गरेको छ । पुस्तकालयको कार्य समिति बैठकले कवि गुरुङको ५२ औं जन्मजयन्तीमा कविता महोत्वस गर्नका लागि कविता आव्हान गरेको हो ।

प्रतियोगी कविहरूले bimal1234gurung@gmail.com मा कविता पठाउन सक्नेछन् । कविता प्रीति फन्टमा हुनुपर्नेछ ।

पुस्तकालयले कात्तिक १९ मा कविता महोत्सव गर्दै छ ।

कार्यसमितिले यसपटक भारतको कालिम्पोङ बस्ने युवा कवि साहित्यकार विशाल नाल्बोलाई ‘युवा प्रतिभा सम्मान’ गर्ने पनि निर्णय गरेको छ ।

पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङकाअनुसार कविता महोत्सवमा नेपाली भाषी कवि साहित्यकारहरुले कात्तिक पहिलो साताभित्र रचना पठाइसक्नु पर्नेछ । महोत्वमा सहभागिमध्ये प्रथमले नगद २१ हजार, द्वितीयले १८ हजार र तृतीयले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । गत वर्ष कवि सीता तुम्खेवा पहिलो, गगन योक्पाङदेन दोस्रो र राधिका कल्पित तेस्रो भएका थिए ।

उक्त अवसरमा ‘कवि विमल गुरुङ कृति पुरस्कार’ पनि २०७९ मा प्रकाशित भएकामध्ये एक सर्वश्रेष्ठ कृतिलाई नगद २ लाख रुपैयाँ र ताम्रपत्रले पुरस्कृत गरिने अध्यक्ष गुरुङले बताए । पुस्तक आहृवान भने भइसकेको र हालसम्ममा करिब ६० जना श्रष्ठाले कृति दर्ता गरेको पुस्तकालयले जनाएको छ ।

२०७८ को कवि विमल कृति पुरस्कार काङ्माङ नरेशको युद्ध साहित्य सिद्धान्तमा आधारित कविता कृति ‘तेप्लायु’ लाई दिइएको थियो । पूर्व ब्रिटिश गोर्खा सैनिक गुरुङ र उनका परिवारले स्वर्गीय कवि/पत्रकार छोरा विमलको स्मृतिमा २०४९ सालमा पुस्तकालय स्थापना गरी पछिल्लो समयमा १ करोड रुपैयाँ अक्षयकोष राखेका छन् ।