कटन विश्वविद्यालयको भाषा, कला र संस्कृति विभाग तथा ‘इन्द्रेनी प्रकाशन, असम’को संयुक्त आयोजनामा कविता उत्सव समाहोर सम्पन्न भएको छ । २२ र २३ जुलाईमा दिन राष्ट्रिय तहको कविता समारोह सम्पन्न भएको हो ।
समारोहमा देशका विभिन्न प्रान्तका करिब ८० जना कविहरूले कविता वाचन गरेका थिए । ती कवितामाथि भारतका तीन जना विशिष्ठ समालोचकले भिन्न विषयमा विमर्श गरेका थिए ।
यसै कार्यक्रममा ‘इन्द्रेनी प्रकाशन, असम’ले सम्पन्न गरेको कविता प्रतियोगिताको परिणाम घोषणा पनि गरिएको थियो । घोषणानुसार प्रथम पुरस्कार असमका हिरण्य पौडेल, दोस्रो सिक्किमका एन.बी. घिमिरे र तेस्रो असमकै नारायण शर्मा अधिकारीले प्राप्त गरे । पुरस्कृत कविहरू क्रमशः १० हजार, ८ हजार तथा ६ हजार रकमको पुरस्कार हात पारे ।
सो अवसरमा असमेली नेपाली समालोचना, खण्ड २, सम्पादक : रुद्र बराल र कृष्णनील कार्की, इन्द्रेनीका रङ ( सामूहिक कविता सँगालो, सम्पादकत्रय : अर्जुन निरौला, नैना अधिकारी र ज्योति होमागाईं), अमूर्त कारागार ( कवितासङ्ग्रह) नैना अधिकारी, अग्नि ( कवितासङ्ग्रह) तीर्थराज फुँयल, विज्ञापन ( कथासङ्ग्रह) खड्गबहादुर कौशिक, पृथिवीका सुस्केरा ( कथा सङ्ग्रह) डा. देवेन सापकोटा तथा वास्तुहारा (लीलबहादुर क्षत्रीको बसाइँको बाङ्ला अनुवाद, बिलोक शर्मा) गरी सात पुस्तक एकसाथ विमोचन समेत गरियो ।
दुइ दिने कार्यक्रममा हालै असमबाट साहित्य अकादमी युवा पुरस्कारले सम्मानित असमकी कवि नैना अधिकारीलाई सम्मानित गरिएको थियो ।
सो कार्यक्रममा कटन कलेजका सहकुलपति, पद्मश्री सम्मान प्रापक वरिष्ठ साहित्यकार लीलबहादुर क्षत्री, नव सापकोटा, दिल्लीराम खनाल, इन्दुप्रभा देवी, डा. खगेन शर्मा, डा. देवेन सापकोटा, सिक्किमका मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार जेकब खालिङ, साहित्यकार जय क्याक्टस, बिलोक शर्मा, देविका मङ्ग्राती, सङ्गम सुधा, साहित्यकार मोहन सुवेदी, वरिष्ठ साहित्यकार प्रवीण राई जुमेली, दीपक सुवेदी, रण काफ्ले, नेपाल पोएट आइडलकी विजयी नीलम गुरुङ तथा भारतभरिका साहित्यकारको उपस्थिति रहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।