
????????????????????????????????????
साहित्यपाेस्ट
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रज्ञा प्रतिष्ठानका क्रियाकलापप्रति असन्तोष जनाउँदै साउन १५ भित्रमा सबै निकाय र विभागको प्रगति विवरण पेश गर्न निर्देशन दिएका छन् ।
मन्त्री भट्टराईले गएको आइतबार तीनओटै प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीहरूबीच भएको संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उक्त निर्देशन दिएका हुन् । प्रज्ञा भवन, कमलादीमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका साथै सांस्कृतिक संस्थानका पदाधिकारीहरू बीच भएको संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले चार दिनभित्र सबै प्रज्ञा–प्रतिष्ठान र संस्थानले आ.व. २०७६/०७७ को प्रतिवेदन मन्त्रालयमा अनिवार्य बुझाउन निर्देशन दिएका हुन् ।
“विनियोजित बजेटले महत्त्वपूर्ण कार्यक्रमहरू गर्न कठिनाई भए मन्त्रालयले थप सहयोग गर्नेछ ।” भट्टराइले दर्जनौ पदाधिकारीको संयुक्त भेलालाई सम्बोधन गर्दै भने, “पेश्की फस्र्योट, बेरुजु फस्र्योट शतप्रतिशत हुनैपर्छ । मितव्ययी पनि हुनैपर्छ र प्रत्येक महिनामा आ–आफ्ना कामहरूबारे मन्त्रालयमा कार्यप्रगति रिपोर्टिङ गर्नै पर्छ ।”
मन्त्री भट्टाराईले कतिपय समान प्रकृृतिका काम छुट्टाछुट्टै गरेर फजुल खर्च गरेकोमा असन्तोष व्यक्त गर्दै भने, “संयुक्त रूपमा गर्न सकिने कामलाई छुट्टाछुट्टै गर्नुको कुनै तुक छैन ।”
सुरुमा नरम तरिकाले प्रस्तुत भएका मन्त्री भट्टराईले भने, “आपसी परिचयका साथै प्राज्ञिक गतिविधिका बारेमा एकअर्काका अनुभव आदान प्रदान गरौँ र आगामी कार्ययोजनाबारे छलफल गरौँ भन्ने उद्देश्यले यस भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । म मन्त्री भएर आएपछि प्राज्ञहरूबाट धेरै कुरा सिकेको छु । प्रज्ञा–प्रतिष्ठानहरू मेरा लागि विश्वविद्यालय भएको छ ।”
प्राज्ञहरूको भनाइ सुनेपछि भट्टराई लामो समय बोलिरहे । उनले भने, “कोरोना भाइरस कारण पूर्वनिर्धारित ठूला गोष्ठी, सेमिनार तथा सभाहरू आयोजना हुन नसकेका भए तापनि अब सानातिना गोष्ठी, सेमिनारहरू आयोजना गर्न कुनै बन्देज छैन । तपाईँहरु अघि बढ्नूस् ।” विस्तारै बौद्धिकरुपमा भट्टराईले प्रज्ञा प्रष्ठिानको कार्यशैलीप्रति असन्तोष जनाउँदै भने, “अबदेखि प्रज्ञा–प्रतिष्ठानहरूमा पनि कुलपतिसमक्ष उपकुलपति र प्राज्ञहरूले कार्यसम्पादन सम्झौता लागू गर्नुपर्ने हुन्छ । हामीसँग अर्को विकल्प छैन ।”
मन्त्री भट्टराईले मानव सभ्यता र समाजलाई सकारात्मक बाटोतर्फ दिशानिर्देश गर्ने खालका लेखन र गतिविधिहरू प्राज्ञहरूबाट हुनुपर्ने आवश्यकता पनि औँल्याए । सारा विश्व पूर्वीय सभ्यतातिर फर्किइरहेका बेला नेपाली नागरिकमा भने नकरात्मक चिन्तन र सोचको विकास भइरहेको तर्फ सङ्केत गर्दै उनले सामाजिक सद्भाव कायम राख्न र साझा राष्ट्र तथा राष्ट्रियतालाई मजबुद बनाउने पक्षमा प्राज्ञहरूको अहम् भूमिका रहनुपर्ने कुरामा जोड दिए । थप भने, “विश्वमा नेपालको सकरात्मक उपस्थिति देखाउन सबैले आआफ्ना तर्फबाट सक्दो रचनात्मक भूमिका खेल्नै पर्छ । त्यसमा बौद्धिक व्यक्तिहरुको भूमिका अझ बढी हुनुपर्छ ।”

पहिलोपटक भेटघाटः
प्रज्ञा प्रतिष्ठानको इतिहासमा पहिलोपटक यस किसिमको भेटघाट भएको त्यहाँ उपस्थिति प्राज्ञहरुले साहित्यपोस्टलाई बताएका छन् । भेटघाट हुँदा सबैको कुरा सुन्ने र आफ्नो कुरा राख्ने परिपाटीको विकास भएको पनि उनीहरुले बताए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पनि कार्यक्रममा यस किसिमको ऐतिहासिक भेटघाट पहिलो पटक भएकोमा खुसी व्यक्त गरेका छन् । कुलपति उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानले सरकारले तोकेका जिम्मेवारीहरू शतप्रतिशत पूरा गर्दै आएको स्पष्टिकरण दिए । उनले राज्यले अपेक्षा गरेका दायित्वहरू निर्वाह गरी सार्थकता पुष्टी हुने प्रकारका कामहरू प्रतिष्ठानले गरिरहेको दावी गरे ।
कामको प्रगति विवरण :
कार्यक्रममा मन्त्री भट्टराईको गुनासो मात्र थिएन, भएका कामको प्रसंसा पनि गरेका थिए । प्राज्ञहरुका अनुसार कुलपतिले दक्षिण एसियाका प्रायः सबै प्रज्ञा–प्रतिष्ठानसँग नेपाल प्रज्ञा–प्रतिष्ठानको आपसी सहकार्य सम्झौता भई त्यो क्रम जारी रहेको र इजरायलसँग समेत सम्झौता भएको अनुभव सुनाउँदा मन्त्री भट्टराईले खुसी व्यक्त गरेका थिए ।
प्रतिष्ठानले उक्त कार्यक्रममा चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन आयोजना गरिएको, प्रादेशिक, नेपाल दर्पण महाग्रन्थ र नेपाली दर्शन महाग्रन्थको लेखन कार्य सुरु भएको विवरण पेश गरेको थियो । त्यसैगरी नेपाली बृहत् शब्दकोशको मोबाइल एप निर्माण गरी लागू गरिएको र अर्को वर्ष १ लाख १५ हजार शब्दको प्रज्ञा नेपाली बृहत् शब्दकोश ल्याउने गरी काम भइरहेको जानकारी पनि कार्यक्रममा दिइयो ।
प्रज्ञा प्रतिष्ठानले महाकवि देवकोटा सङ्ग्रहालयको डिपिआर निर्माण पूरा भएको जानकारी पनि गराएको थियो । कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले भने, “हामीले आफ्नो औचित्य र सार्थकता पुष्टि हुने गरी काम गर्न सकेनौँ भने हाम्रो भविष्य खतरामा छ । सबैले यो कुरा हामीले बुझेका छौँ ।”
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले आ.व. २०७६÷७७ मा आफ्नो प्रज्ञा–प्रतिष्ठानले गरेका गतिविधिहरू प्रस्तुत गरे । उनले संस्थाले आफ्नो लक्ष्यको ८५ प्रतिशत कार्य पूरा गरेको बताउँदै कलाकार अरनिकोको १७ फिटको ढलौटको मूर्तिको काम हुँदै गरेको र ललितकलाकर्मी परिचयपत्रको कार्यविधि बनाई वितरण गर्ने तयारी गरिरहेको जानकारी दिए ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले आफूहरू नियुक्त भएर आएदेखिका कामहरूका बारेमा प्रकाश पार्दै कोरोनाका कारण लक्ष्यअनुरुपका कामहरू गर्न नसकेको बताएका थिए ।
सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले पनि आफ्नो संस्थानले सम्पन्न गरेका गतिविधिबारे जानकारी गराएका थिए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले एक प्रदेश एक पर्वको नीतिअनुसार सात ओटै प्रदेशका विशिष्ट अमूर्त सांस्कृतिक सम्पदाको खोज–अध्ययन गरी त्यसलाई अन्तर्राष्ट्रियस्तरमा लैजानेतर्फ प्रज्ञा प्रतिष्ठानले काम गर्नुपर्ने कुरामा जोड दिए । उनले सरकारले गरेको लगानीको औचित्य र प्रतिफल देखिने गरी कामहरू गर्न प्रज्ञा–प्रतिष्ठान र संस्थानलाई आग्रह गरे ।
उक्त अन्तरक्रियाको सञ्चालन नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
३० कार्तिक २०८२, आईतवार 









