नैतिक शिक्षा विषयलाई विद्यालय शिक्षामा अनिवार्य गर्न तथा ‘नैतिक शिक्षा’ विषयको पाठ्यक्रममा ‘शिष्टाचार’ सम्बन्धी पाठ समावेश गर्न माग गर्दै शिष्टाचार अभियान नेपालले शिक्षा राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । अभियानले माननीय शिक्षा, विज्ञान र प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलाई सिंहदरबारस्थित मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको हो ।
संस्थाका अध्यक्ष सुमन दाहाल नेतृत्वको अभियन्ताहरूको टोलीले राज्यमन्त्रीलाई कार्यकक्षमै भेटेर ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्र बुझ्दै राज्यमन्त्री प्रमिला कुमारीले विद्यालय शिक्षामा पहिले नैतिक शिक्षा हुँदा बालबालिकाको व्यवहार धेरै शिष्ट र नैतिकवान हुने गरेको स्मरण गर्दै नैतिक शिक्षा र शिष्टाचारलाई पाठ्यक्रममा समावेश गर्ने कुरामा आफूले प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाले उठाएको विषय अत्यन्त उपयोगी रहेको हुँदा माननीय मन्त्रीसँग सल्लाह गरेर सम्बन्धित निकायलाई नैतिक शिक्षासम्बन्धी पाठ्यक्रम विद्यालय शिक्षामा समावेश गर्न निर्देशन गर्ने जानकारी राज्यमन्त्रीले गराउनुभयो ।
सो भेटघाट कार्यक्रममा शिष्टाचार अभियानको तर्फबाट अध्यक्ष दाहालसँगै उपाध्यक्ष दामोदर निरौला, सचिव मुकुन्दराज दाहाल, सदस्य नोदनाथ त्रिताल, आजीवन सदस्यहरू: विष्णुकुमार कार्की र कुवेर राईको सहभागिता रहेको थियो ।
माननीय शिक्षा राज्यमन्त्री समक्ष पेश भएको ज्ञापनपत्रमा नेपालको संविधानको धारा ३१ ले शिक्षासम्बन्धी हकलाई मौलिक हकको रूपमा ग्यारेण्टी गरेको, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने व्यवस्था रहेको स्मरण गराउँदै संविधानको धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकको रूपमा राखेर प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने व्यवस्था रहेकोले नैतिक शिक्षा समाजमा अपरिहार्य रहेको बताइएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लोकतान्त्रिक मूल्य र मान्यताभित्र असल समाज निर्माणमा शिष्टाचारको व्यवहारमा पालना गराउन अभियान सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष दाहालले बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।