नेपालमा सञ्चालित निजी तथा सामुदायिक रेडियोहरूले सङ्गीतकार सुरेश अधिकारीका गीतमा प्रतिबन्ध लगाएका छन् । आफूहरूविरुद्ध अमर्यादित, तुच्छ, मानमर्दन र भ्रम सृजना गर्ने आशयसहितको अभिव्यक्ति दिएको भन्दै रेडियो ब्रोडकाष्टर्स फोरम (आरबीएफ), ब्रोडकाष्टिङ्ग एसोशियशन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिबन्ध लगाएका हुन् ।
विज्ञप्तिमा आरबीएफका अध्यक्ष आरके श्रेष्ठ, बानका अध्यक्ष कुमार भट्टराई र अकोराबका अध्यक्ष अर्जुन गिरीको हस्ताक्षर छ।
विज्ञप्तिमा भनिएको छ, ‘एक सङ्गीत सर्जकको यस्तो अराजक अभिव्यक्तिले समग्र स्वतन्त्र रेडियो र नेपाली सङ्गीत क्षेत्रबीचको सुमधुर सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्नसक्ने कुराको महशुस गर्दै उहाँका सम्पूर्ण साङ्गीतिक कृतिहरू रेडियोबाट प्रसारण गर्न नसकिने व्यहोरासमेत यसै विज्ञप्तिमार्फत् अवगत गराउन चाहन्छौँ।’
चारदिन अघि सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्षसमेत रहेका सङ्गीतकार सुरेश अधिकारीले गीतसङ्गीत प्रशारण गरेबापत रोयल्टी नतिर्ने निकायविरुद्ध कानुनी उपचार खोज्ने आशयको फेसबुक पोस्ट गरेका थिए ।
‘हामीले तिमीहरूजस्ता हजारौँखाले लुटेरा लाउकेहरूसँग लडेर रोयल्टी ल्याएका छौँ र त्यसलाई वास्तविक हकदार स्रष्टासम्म पुर्याएका छौँ र मात्र यो रोयल्टी अभियानलाई यहाँसम्म ल्याइपुर्याका छौँ,’ उनले फेसबुकमा लेखेका थिए, ‘श्रष्टाको बौद्धिक सम्पत्ति बिनारोयल्टी आफ्नो रेडियोमा बजाएर स्रष्टा मार्ने तिमीहरू हौ लाउके हो।’
सङ्गीत रोयल्टी सङ्कलन समाज स्रष्टाको हितको लागि खुलेको स्मरण गराउँदै उनले आफूहरूको लागि लड्ने कोही छैन भन्ने नसोच्नसमेत चुनौती दिएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।