नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक योगदानको कदर गर्दै ४१ औं वि.पि. स्मृति दिवसको अवसर पारेर ‘त्वदियं वस्तु गोविन्द तुभ्यमेव समर्पणम्’ नामक साहित्यिक कार्यक्रम संचालन गरेको छ।
विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’को सभाध्यक्षतामा २०८० साल श्रावण ०६ गते शनिबारका दिन गोकर्णेश्वर नगरपालिकास्थित वि.पि. सङ्ग्रहालय परिसर सुन्दरीजलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
गोरखापत्र संस्थानद्वारा प्रकाशित हुँदै आएको मधुपर्क साहित्यिक मासिकका नायब कार्यकारी सम्पादक एवम् भाषा- साहित्यका गम्भीर अध्येता त्रिभुवनचन्द्र वाग्लेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम संचालन भएको थियो।
उक्त कार्यक्रममा वि.पि. सङ्ग्रहालयका कार्यकारी निर्देशक परशुराम पोखरेल, समकालीन पुस्ताका प्रखर मुक्तककार रुद्र अधिकारी, पूर्व सांसद गोविन्द शर्मा कँडेल लगायत विद्युतकर्मी साहित्यिक समाज सातौं कार्यसमितिका पदाधिकारीहरू,स्थानीय साहित्यकार एवम् साहित्यप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो।
वि.पी. कोइरालाको सालिकमा माल्यार्पण गरेर समुद्घाटन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि त्रिभुवनचन्द्र वाग्ले र अतिथि रुद्र अधिकारीले विविध भावभूमिका साहित्यिक रचना वाचन गर्नुभएको थियो।
सो अवसरमा विद्युतकर्मी साहित्यिक समाजका पदाधिकारीहरू -कृष्णदेव रिमाल ‘शब्दसेना’, शारदादेवी पोखरेल भट्टराई, विष्णु आचार्य ‘अतृप्त’, मुकुन्दप्रसाद प्रसाईं ,सङ्गीता अधिकारी पौडेल, आविष्कार कला, बलराम पुडासैनी ,रीता चालिसे खनाल र यादवराज घलेले वि.पि.स्वयंले लेख्नुभएको रचना, वि.पि.का बारेमा आफूले लेखेको रचना र अन्य स्वतन्त्र रचनाहरू वाचन गर्नुभएको थियो।
स्थानीय साहित्यकारद्वय नरबहादुर श्रेष्ठ र विष्णु थापा ‘ बिछोड’ ले समेत सो कार्यक्रममा आ-आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो।
उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि वाग्लेले वि.पि.ले नेपाली कथामा यौन मनोवैज्ञानिक धाराको प्रवर्तन गर्नु भएको र उहाँका अधिकांश रचना सङ्ग्रहालय परिसरमा रहेको कपुरको रुखमुनि सिर्जना भएको सन्दर्भ सुनाउनु भयो। उहाँले तत्कालीन सुन्दरीजल जेलमा वि. पि. ले अनेकौं सकस र प्रताडना सहनु परेको दृष्टान्त प्रस्तुत गर्दै हालको सङ्ग्रहालय त्यही जेलको परिवर्तित संस्करणका रूपमा व्यवस्थित गरिएको विचार व्यक्त गर्नु भयो।
सो कार्यक्रममा पूर्व सांसद गोविन्द शर्मा कँडेलले वि.पि.ले आफ्नो साहित्य मार्फत प्रत्येक नागरिकलाई असल बन्न प्रेरणा दिएकाले उहाँको विचार, व्यवहार र पदचापलाई आदर्श मानेर मुलुक अगाडि बढ्नु पर्ने धारणा राख्नु भयो।
उक्त समारोहमा कार्यक्रम आयोजनाको औचित्य पुष्टि गर्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले ‘तिम्रो वस्तु तिमीलाई नै समर्पण गर्दछौँ’ भन्ने आशय सहित ‘त्वदियं वस्तु गोविन्द तुभ्यमेव समर्पणम्’ नामक साहित्यिक अभियान सुरु गरिएको बताउनु भयो। उहाँले यो अभियान गत असारमा आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती मनाएर आरम्भ गरिएको जानकारी दिनुहुँदै यस अभियानको दोस्रो संस्करण वि.पि. सङ्ग्रहालयमा आएर संचालन गर्ने मौका मिलेकोमा प्रसन्नता जाहेर गर्नु भयो।
यस अघि’तीन तियाँ’,’गजल मुशायरा’, ‘पुस्तकसँग पाठक’, ‘बहुभाषिक काव्यगोष्ठी’ ‘लेखन प्रशिक्षण कार्यशाला’, ‘स्रस्टा सम्मान’, ‘पर्यटन साहित्य प्रवर्द्धन’ लगायतका विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रम संचालन गरिसकेकोले पृथक धारको कार्यक्रम खोज्ने सिलसिलामा यस्तो स्वरूपको कार्यक्रम गर्ने अवधारणाको विकास हुन गई यस प्रकृतिको कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले जानकारी दिनु भयो।
करिब २ घन्टासम्म सन्चालन भएको सो कार्यक्रमको सहजीकरण विष्णु आचार्य ‘अतृप्त’ ले गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा सभाध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना ‘ ले प्रमुख अतिथि र अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।