साहित्यिक त्रैमासिक ‘शिवपुरी सन्देश’को १०० औं अङ्क (२०७९, वैशाख–असार) प्रकाशन भएको छ । वियोगी बुढाथोकीको प्रधान सम्पादकत्वमा शिवपुरी सन्देशको सतक अङ्क ‘नियात्रा अङ्क’का रुपमा प्रकाशनमा आएको हो ।

‘‘शिवपुरी सन्देश’ले विगतमा ‘बिपी कोइराला विशेष’, ‘बर्मा विशेष’, ‘राजधानी र मोफसलवाद विशेष’, ‘यौन साहित्य विशेषाङ्क, ‘कविता’, ‘गजल’, ‘मुक्तक’ विशेषाङ्कमात्र नभएर ‘प्रजातन्त्रवादी लेखक अङ्क’ र ‘बूढानीलकण्ठ नगरपालिकाभित्रका स्रष्टा तथा सिर्जना’लगायत विशेषाङ्कहरु प्रकाशित गरिसकेको छ ।’’, सम्पादकीयमा लेखिएको छ, ‘‘त्यही अनुभवको आधारमा ‘यसमा हामीले कसरी अघि बढ्ने ?’ भन्ने विषयमा सल्लाह गर्यौं । सैद्धान्तिक लेख, अन्तर्वार्ता र नियात्रा समेट्ने अनि स्थायी स्तम्भहरु यथावत् राखेर शताङ्क प्रकाशित गर्ने निर्णय भयो ।’’

शिवपुरी सन्देशक यस शतक अङ्कमा जय छाङ्छा, कृष्ण प्रधान र प्रा.डा. कुमारप्रसाद कोइरालाका नियात्रा सिद्धान्तका लेखहरु छापिएका छन् भने नियात्राकार घनश्याम राजकर्णिकार र चन्द्रप्रसाद भट्टराईसँगको अन्तर्वार्ता पनि सङ्ग्रहित छन् ।

त्यसैगरी, यस शतक अङ्कमा रञ्जुश्री पराजुली, विष्णुबहादुर सिंह, गोविन्दबहादुर कुँवर, बुद्धिराज पाण्डे, रामप्रसाद पन्त, वियोगी बुढाथोकी, किशोर पहाडी, वासुदेव गुरागाईं, प्रतीक ढकाल, विष्णुप्रसाद पराजुली, डा. दामोदर पुडासैनी, श्रीओम श्रेष्ण ‘रोदन’, खगेन्द्र गिरि कोपिला, विनोद नेपाल, तुल्सीराम पुडासैनी, जीवा लामिछाने, युवराज नयाँ घरे, ज्ञानेन्द्र विवश, गीता रेग्मी, जीविका अश्रु, प्रभा बराल र चेतनपथ माधवका नियात्राहरु सङ्ग्रहित छन् ।

त्यस्तै, देवीचन्द्र श्रेष्ठ र एकलव्यको संस्मरण समावेश यो शताङ्कमा प्रा. कपिल अज्ञात र अनुपमा रेग्मीका नियात्रा समीक्षा समेत अटाएका छन् । नियमित स्तम्भ ‘तैँ चुप, मै चुप’का साथै साहित्यिक गतिविधिका समाचारहरुसमेत यो अङ्कमा अटाएका छन् ।

‘यी नियात्राहरुले विज्ञ पाठकलाई फरक–फरक स्थानको रसास्वादन गराउनेमा हामी केही मात्रामा भए पनि ढुक्क छौं ।’ सम्पादकीयको अन्त्यतिर भनिएको छ ।

वियोगी बुढाथोकी प्रधान–सम्पादक रहेको शिवपुरी सन्देशको सम्पादक विष्णुबहादुर सिंह रहेका छन् । शतक अङ्कका लागि अतिथि सम्पादकका रुपमा विनोद नेपाल रहेका छन् ।

शिवपुरी सन्देशको शतक अङ्कको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।