
राजधानीमा कविता सुन्न र सुनाउन कविहरु भेला हुनु नौलो कुरो होइन । तर फरक–फरक पुस्ताका प्रतिनिधि कविहरु जुटेर हार्दिकताका साथ एकअर्काका कविता सुन्नु र सुनाउनु भने विरलै हुने संयोग हो । यही श्रावण १३ गते अर्थात् शनिवार कालिकास्थानस्थित सर्वनाम थिएटरमा यही विरलै हुने संयोग हुँदैछ । एकै मञ्चमा तीन पुस्ताका तीन प्रतिनिधि कविहरुले कविता सुनाउँदैछन् ।
कवितामा तीन पुस्ताको छैटौँ शृङ्खलामा वरिष्ठ कवि लक्ष्मी मालीका साथमा कवि भोजराज न्यौपाने र चन्द्र घर्तीमगर उभिने भएका छन् । तीन पुस्ताका यी तीन कविले आफ्नो पुस्ताको प्रतिनिधित्व गर्दै एकार्कालाई कविता सुनाउने र सुन्ने भएका हुन् ।
तीन पुस्तकका कविहरुलाई एउटै मञ्चमा उभ्याउने काम जरुवा क्रियसन फर क्रिएटिभिटीले गरेको हो । तीन पुस्ताका तीन कविलाई एउटै मञ्चमा उभ्याउने उदेश्यसहित सुरु गरिएको यो कार्यक्रममा अभिभावक पुस्ता, अग्रज पुस्ता र अनुज पुस्ताले एउटै मञ्च साझा गर्नेछन् । कार्यक्रमको संरचनाअनुसार एक कविले ५ वटा कविता सुनाउनेछन् ।
हरेक दुई महिना हुँदै आएको यस कार्यक्रममा आफ्नो पुस्ताको प्रतिनिधित्व गर्ने कविहरुलाई सम्मानजन पारिश्रमिक समेत दिइँदै आइएको छ । कार्यक्रमको चारवटा शृङ्खलाहरु सफलताका साथ सम्पन्न भइसकेका छन् ।
कविहरु श्रावण १३ गते (शनिवार), दिउँसो २ बजेबाट कालिकास्थानस्थित सर्वनाम थिएटरमा सुनिने छन् । १ सय रुपियाँको टिकटमा स्रोताले तीन पुस्ताका तीन कविलाई एकै ठाउँ, एकैपटक सुन्न पाउने छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

