वरिष्ठ शिक्षासेवी स्व. बखतबहादुर चित्रकारको स्मृति–ग्रन्थ विहीबार राजधानीमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । ९१ वर्षको उमेरमा २०७८ साउन महिनामा दिवंगत हुनुभएका स्व.चित्रकारको दोस्रो वार्षिक पुण्यतिथिको सन्दर्भ पारेर चित्रकारको परिवारद्वारा ‘बखतबहादुर शब्दचित्र स्मृति ग्रन्थ’ प्रकाशन गरिएको हो ।

करिब ३८ वर्ष नेपाल सरकारको विभिन्न पदमा रही शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याउनुभएका स्व. चित्रकार एक सामाजिक तथा सांस्कृतिक अभियन्ता पनि हुनुहुन्थ्यो । साथै उहाँलाई नेपालकै पहिलो सिनेमेटोग्राफरको रूपमा पनि चिनिन्छ ।

राष्ट्रिय समाचार समितिका आलेख समाचार प्रमुख कृष्ण अधिकारीको लेखनमा आएको करिब पौने तीन सय पृष्ठको उक्त स्मृति–ग्रन्थमा लेखकले बखतबहादुरसँग गरेको कुराकानी, आलेख, उनका केही लेख र अन्तर्वार्ता, उनीबारे विभिन्न व्यक्तित्वले लेखेका लेख तथा तस्बिरहरू समावेश गरिएको छ । राजधानीकै बासिन्दा भएर पनि आर्थिक अवस्था कमजोर भएका स्व.बखतबहादुरले गरेका जीवनका अनगिन्ती संघर्षलाई पुस्तकमा समावेश गरिएको छ । काठमाडौंको सामान्य परिवारमा जन्मिएका स्व.चित्रकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको र उहाँलाई जिउँदो छँदासम्म राष्ट्रले उचित सम्मान दिन नसकेको पनि पुस्तकका सल्लाहकार तथा साहित्यकार चेतनाथ कणेल ’हरित‘ बताउँछन् ।

वि.सं.१९८७ माघ १८ मा काठमाडौंको यट्खा टोलमा जन्मिएका स्व बखतबहादुरले नेपालमा दश जोड दुई शिक्षा प्रणालीको आरम्भ गर्नमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए । पुस्तकको प्रकाशन उहाँकी छोरी भावना, र छोराद्वय रवि तथा शशि चित्रकारले गरेका हुन् । पुस्तक लोकार्पणको अवसरका रवि चित्रकार, चेतनाथ कणेल ’हरित‘, प्रा.डा. भीमदेव भट्ट, कृष्ण प्रजापति, राजभाइ सुवाल, भारती सिलवाल गिरी, मदन चित्रकार, शशि चित्रकार, रिया चित्रकार, डा. आकाश चित्रकारले आआफ्ना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन इमेज च्यानलका सञ्चारकर्मीद्वय अनुपा श्रेष्ठ तथा अनुषा पौडेलले गरेका थिए ।