नेपालको पहिलो चलचित्र “आमा ” मा अभिनय गरेका तीन वरिष्ठ अभिनेत्रीहरू भुवन चन्द, बसुन्धरा भुसाल र चैत्यदेवी सिंहद्वारा स्थापितं भुवन चैत्य बसुन्धरा फाउण्डेसनको अध्यक्ष भुवन थापा चन्दको अध्यक्षतामा सोमबार बसेको बैठकले २०७८ र २०७९ सालको भुवन चैत्य बसुन्धरा पुरस्कार विभिन्न श्रष्टा तथा सर्जकलाई अर्पण गर्ने निर्णय गरेको छ ।
सो निर्णय अनुसार ०७८ सालको हरिश–भुवन चन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी यादव खरेल र ०७९ सालको हरिश–भुवन चन्द पुरस्कार विशिष्ट चलचत्रकर्मी नीर शाहलाई प्रदान गरिने भएको छ । यसैगरी विशिष्ट संगीतकर्मी गणेश रसिकलाई २०७८ र विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार अर्पण गरिने भएको छ । साथै विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मालाई २०७८ साल र विशिष्ट चलचत्रिकर्मी अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार अर्पण गरिने भएको छ ।
वि.सं २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला, संस्कृति र रंगमन्च, गीत, संगीत साहित्य समाजसेवाका साथै नेपाली चलचित्रको विभिन्न विधाका सर्जक, श्रष्टा र व्यक्तित्वहरूको योगदान र साधनाको सम्मान गर्दै पुरस्कार र लिखत–पत्र अर्पण गर्दै आएको छ । पुरस्कारको राशी जनही एकाउन्न हजार रूपैयाँ रहेको छ । पुरस्कार साउनको तेस्रो हप्तामा विशेष समारोहको आयोजना गरी अर्पण गरिने कुरा सो फाउण्डेशनका महासचिव मोहन निरौलाले जानकारी दिनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।