रमेश क्षितिजको पछिल्लो कविता सङ्ग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’को छोटो समयमा नै दोस्रो संस्करण प्रकाशन हुने भएको छ । नेपाली साहित्य बजारमा कवितालाई त्यति व्यवसायिक विधा नमानिने भए पनि यसले पाठकको मन जितेको हो ।

प्रकाशक बुकहिलले दोस्रो संस्करण पुस्तकको नयाँ आवरण सार्वजनिक गर्दै छिटै बजारमा आइपुग्ने जनाएको छ । पहिलो संस्करणमा भएका सामान्य प्रुफ र अन्य त्रुटिलाई समेत सच्याएर अझै परिष्कृत बनाइएको छ ।

बुकहिलद्वारा जारी प्रेस-नोटमा भनिएको छ, “रमेश क्षितिजका कविता पाठकले निकै मन पराइदिनुभएको छ, आख्यानजस्तै बिक्रीसमेत भएकाले हामी उत्साहित छौँ ।” करिब एक दशकको अवधिमा कवि क्षितिजले सिर्जना गरेका ५३ वटा जीवनबोधी, दार्शनिक र आध्यात्मिक चेतनाका कविता यस सङ्ग्रहमा सङ्गृहित छन् । पाँच खण्डमा विभाजित सङ्ग्रहका कविताले प्रकृति, जीवन, जगत् र मानवीय संवेदनाका विषयमा ताजा र पृथक् बिम्बहरूलाई सरल र सहज भाषाशैलीमा प्रस्तुत गरेका छन् ।

२०५६ सालमा ‘अर्को साँझ पर्खेर साँझमा’ र २०६९ मा ‘घर फर्किरहेको मानिस’ कविता सङ्ग्रह प्रकाशन गरिसकेका क्षितिजको ‘आफैं आफ्नो साथी भएँ’ गीत सङ्ग्रहका साथै दर्जनौं गीतहरू लोकप्रिय छन् ।