सर्लाही साहित्य समाजको भवन निर्माण गर्न चरम रकम अभाव भएको संस्थाकी अध्यक्ष मीना देवकोटाले बताएकी छन् । २१० औं भानु जयन्तीका अवसरमा समाजको अपुरो भवनमा भएको वृक्षारोपण तथा भानु कवितावाचन कार्यक्रममा अध्यक्ष देवकोटाले सो कुरा बताएकी हुन् ।

कार्यक्रममा कवि मकरबहादुर सार्कीले भानुभक्तको समाज निर्माणमा प्रेरणादायी योगदान रहेको चर्चा गर्दै के गर्न बाँकी छ यहाँ शीर्षकको कवितावाचन गरेका थिए । कवि मकरले साहित्य समाजको ऐना भएको र भाषा तथा वर्तमान समाजलाई सही दिशामा लैजान साहित्यिक गतिविधि र साहित्यिक संस्थाहरुको ठूलो योगदान हुने हुँदा स्थानीय तहले साहित्यिक संस्थाको विकास गर्न बजेट विनियोजन गर्नुपर्ने बताए ।

स्थानीय साहित्यिक मन राजेश्वरी काफ्लेले सो समाजलाई जग्गादान गरेपछि तीन वर्ष अघिदेखि भवन निर्माण शुरु भए पनि निर्माण कार्य पूरा हुन नसक्दा साहित्यिक गतिविधि गर्न र पुस्ताकालय संचालन गर्न समस्या भइरहेको उपस्थित साहित्यकारले बताएका छन् ।

२१० औं भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रम सर्लाही साहित्य समाजको आयोजना तथा नेपाल अन्तर्राष्ट्रिय साहित्यिक समाज मधेश प्रदेशको सहआयोजनामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कोपिला साहित्य समाजका केन्द्रीय सदस्य घनश्याम पौडेल, साहित्यकारहरू राधा पौडेल, अर्जुन थापा, देविका अधिकारी, प्रवीण पल्लवी, गोविन्द काफ्ले, लीला घिमिरे, लम्बोदर काफ्ले, लक्ष्मण पौडेल, ऋषि लगायतले रचनावाचन गरेका थिए ।