नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पु-याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’को तेस्रो अभ्यास सम्पन्न भएको छ ।

‘विलोम’को उद्देश्य अनुरूप तेस्रो भेटघाट मूलतः आख्यान विधा अन्तर्गत कथाकारको पहिचान बनाउनुभएका कविता तथा समालोचनाका समेत सशक्त हस्ताक्षर तीसको दसकमा स्थापित स्रष्टा ध्रुव मधिकर्मीसँग भएको हो ।

लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा तेस्रो अभ्यास अन्तर्गत श्री मधिकर्मीसँग झण्डै तीन घण्टा नेपाली लघुकथाको इतिहास देखि लघुकथा के हो र कस्तो हुनुपर्छ वर्तमानमा लेखनमा देखा परेका प्रवृत्ति, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्यसमेत लघुकथाका विविध पक्ष बारे र उहाँको लघुकथा लेखनका बारेमा पनि विस्तृत कुराकानी भएको थियो ।

लघुकथाकार त्रय विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यास अन्तर्गत तेस्रो अभ्यास २०८० असार ३० गते आख्यानकार श्री मधिकर्मीको निवास भक्तपुरमै सम्पन्न भएको हो । यसको पहिलो अभ्यास २०७९ फागुन ३ गते गरिएको थियो ।