अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गतको भाषा तथा साहित्य समितिले २१० औँ भानु जयन्ती विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।

शनिबार भर्चुअल माध्यममार्फत भएको कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका अध्यक्ष प्रा. डा. गोपाल ठाकुर थिए भने विशेष अतिथि एवम् प्रमुख वक्ता नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् सहप्राध्यापक डा. धनप्रसाद सुवेदी थिए ।

कार्यक्रममा प्रमुख अतिथि ठाकुरले आदिकवि भानुभक्तले नेपाली भाषमा पुर्याएको योगदान तथा रामायणको चर्चा गरेका थिए ।

प्रमुख वक्ताका रुपमा रहेका सुवेदीले भानुभक्तले नेपाली भाषा, साहित्यमा दिएको योगदानको स्मरण गर्दै आफ्नो प्रस्तुती दिएका थिए ।

इन्स भाषा साहित्य समितिकी अध्यक्ष एवम् कार्यक्रमकी संयोजक डा. जानुका पौडेलले भानुभक्तबाट सिक्नुपर्ने विषयको चर्चा गरेकी थिइन् । इन्सका अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरेले संस्थाले भाषा र संस्कृति उत्थानका लागि निरन्तर प्रयास गरिरहेको बताउँदै यसलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा सहभागीहरुले रचना वाचन पनि गरेका थिए ।