अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विभिन्न विधा तथा शीर्षकका पुरस्कारहरूको घोषणा गरेको छ । पुरस्कार समितिका अध्यक्ष तीर्थराज पाण्डेले अनेसासको ३१ औं वार्षिक उत्सव तथा २१० औं भानुजयन्तीका अवसरमा जूममा आयोजित कार्यक्रमका बिच पुरस्कारहरूको घोषणा गरेका हुन् ।

घोषणाअनुसार यस वर्षको ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ भारतका रण काफ्लेको उपन्यास “रैथाने”ले प्राप्त गरेको छ । यो पुरस्कारको राशि २ हजार डलर रहेको छ ।

‘अनेसास होमनाथ सुवेदी डायस्पोरा पुरस्कार’ अमेरिकाका महेश्वर पन्तको “बौलाको डायरी”, ‘अनेसास श्याम कार्की तथा इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार’ नेपालका श्रीबाबु कार्कीको “सन्दिग्ध शताब्दि”, ‘अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार’ नेपालकी कल्पना खरेलको “रानी तलाउ” तथा ‘अनेसास सीता शर्मा संस्कृति तथा दर्शन सर्वोत्कृष्ट पुरस्कार’ नेपालकै गणेशकुमार जिसीको “अरनिको एसिया एक प्रस्तावना”ले प्राप्त गरेको छ ।

त्यस्तै, ‘अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ कथाकार तथा समालोचक महेश पौड्यालको  “अपरिचित अनुहार”, ‘अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार (डायस्पोरा)’ इजरायलकी सिन्धु पौडेलको “मृत सागरको उचाइबाट”, ‘अनेसास राष्ट्रकवि काव्य पुरस्कार’ डा. गोविन्द आचार्यको “दङ्गी उर्वसी”, ‘अनेसास स्व. लक्ष्मीदत्त पाण्डे सर्वोत्कृष्ट नियात्रा पुरस्कार’ निर्मोही व्यासको “आवारा बादल”ले प्राप्त गरेका छन् ।

यी सबै पुरस्कारहरूको राशि १ हजार डलर रहेको छ ।

त्यसैगरी, ‘अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत-गजल पुरस्कार’ अमेरिकाका खेम रिजालको “उर्जा” ले प्राप्त गरेको छ । यस पुरस्कारको राशि ५ सय डलर रहेको छ ।

त्यस्तै, अनेसासमा योगदान दिने व्यक्तित्वलाई प्रदान गरिने २ हजार डलरको ‘अनेसास सुनिल पाठक विशिष्ट पुरस्कार’ अनेसासका पूर्वअध्यक्ष मोहन सिटौलालाई प्रदान गरिएको छ ।

सम्पूर्ण पुरस्कारहरू वितरण आगामी लक्ष्मी जयन्तीका अवसरमा विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने पुरस्कार घोषणाको क्रममा जनाइएको छ ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्धन पूजाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. व्रतराज आचार्य थिए ।
सो कार्यक्रममा विभिन्न पदाधिकारीहरूले शुभकामना मन्तव्य, वार्षिक प्रतिवेदन प्रस्तुति तथा सोमाथि छलफल गरेका थिए । विशेष आकर्षणको रुपमा अनेसास पुरस्कारहरुको घोषणा रहेको थियो ।