विश्व नेपाली साहित्य प्रतिष्ठानको आयोजनामा २१० औं भानु विशेष रचना वाचन र कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ।
भर्चुअल माध्यममा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. नारायण गैरेले भानुको योगदान बारे चर्चा गर्नुभएको थियो । उहाँले भानुभक्तभन्दा पहिले साहित्य स्रष्टा भएको भए पनि प्रभाव, मौलिकता र सरल नेपाली भाषामा लेख्ने कविको रूपमा उनी आदिकवि हुन् भन्नुभयो ।
अर्का अग्रज साहित्यकार डा. बमबहादुर थापा जितालीले भानुभक्त प्रथम व्यङ्ग्य कविसमेत हुन् भन्दै भानुको व्यङ्ग्य कविता सुनाउनु भएको थियो ।
विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले नेपाली साहित्यको श्रीवृद्धिको लागि प्रतिष्ठानले २ वर्षदेखि कार्य गरिरहेको कुरा बताउनुभयो।
उहाँले साहित्यकार शिव खनाल जीवमले प्रकाशित गरेको कृति साहित्य यात्रा नेपाली साहित्यको सम्पत्ति रहेको र प्रतिष्ठानले नेपाली माटोमा जन्मेका विभिन्न विधाहरुलाई प्रवर्द्धन गर्ने कुरा बताउनुभयो ।
स्रष्टा शिव खनाल जीवमले साहित्य यात्रा कृति विभिन्न कालखण्डमा लेखिएका साहित्यिक अवधारणाहरू र रचनाहरूको संग्रह भएको कुरा बताउनुभयो। उहाँले जीवन साहित्य, लेखन प्रविधि, लक्षित साहित्य, शाब्दिक कविता र झरको अवधारणा एवम् सिद्धान्त समेटिएको कृति साहित्य यात्रामा, १२० प्रतिनिधि झरहरु समेत समेटिएको कुरा बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले भानु जयन्ती भानुभक्तलाई सम्झना गर्ने दिन मात्रै नभएर अग्रज साहित्यकारलाई सम्मान गर्ने दिन समेत हो भन्नुभयो । उहाँले आगामी दिनहरूमा अग्रजलाई सम्मान गर्ने कार्यक्रम समेत राख्ने कुरा बताउनुभयो ।
साहित्य यात्रा कृतिबारे समीक्षा गर्दै अग्रज साहित्यकार खगेन्द्र बस्यालले हाम्रै सेरोफेरोमा राम्रा स्रष्टाहरू रहेको र उहाँहरूलाई उपर्युक्त सम्मान दिनुपर्ने कुरामा जोड दिँदै नजिकको तीर्थ हेला गर्न नहुने कुरा बताउनुभयो । उहाँले जीवमको कृतिले औँल्याएको साहित्य, जीवनको पक्षमा लेखिएको हुनुपर्ने, मानिसका समस्याहरू समाधान गर्न सक्ने र सकारात्मक हुनुपर्ने कुरा मननीय रहेको कुरामा जोड दिनुभयो ।
साहित्य यात्रा कृति जगत्रदेवी साहित्य संगम गल्याङ स्याङ्जाले प्रकाशनमा ल्याएको हो ।
कार्यक्रममा साहित्यकार लक्ष्मीप्रसाद मिश्र, सुधा बास्कोटा ढकाल, निरु गौतम, भावना खनाल, चुडा निर्भीक, उत्तम भेटुवाल, उर्मिला पन्त, रिता खतिवडा, गंगा अभिलाषी, चन्द्रावती अधिकारी, दर्बेन्द्र देव खनाल लगायतले रचना वाचन गर्नुभएको थियो ।
प्रतिष्ठानका केन्द्रीय सहसचिव सविता केसीको संचालनमा रहेको कार्यक्रममा कोशी प्रदेश अध्यक्ष निरु गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले गर्नुभएको थियो । कार्यक्रम गुगल मिटको माध्यमबाट साँझ ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा चलेको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला