कवि तथा कथाकार जनक कार्की साहित्यपोस्टसँग आबद्ध भएका छन् । यसअघि पनि साहित्यपोस्टमा आफ्ना सिर्जनाहरु प्रकाशित गर्दै आएका कार्की औपचारिक रुपमै साहित्यपोस्टसँग जोडिएका हुन् ।
कार्कीले साहित्यपोस्टमा रहेर मुख्यतः अन्तर्वार्ता तथा फिचर लेखन गर्नेछन् । साथै, अनुवादलगायत अन्य सिर्जनात्मक कार्यहरुबाट उनले साहित्यपोस्टमा विशेष योगदान पुर्याउने छन् ।
कार्कीको साहित्यपोस्टसँगको आबद्धता प्रधान–सम्पादक अश्विनी कोइरालाले पुष्टि गरे । कोइरालाले भने, ‘जनक कार्कीलाई औपचारिक रुपमा साहित्यपोस्टमा स्वागत गर्न पाउँदा उत्साहित छौँ । उहाँको आबद्धताले साहित्यपोस्ट थप विश्वसनीय र बृहत् बनाउँदै लैजाने विश्वास लिएको छु ।’
जनक कार्की पाल्पामा जन्मिएका हुन् । आवाजको दुनियाँमा रेडियो मुक्तिनाथ हुँदै कालिका एफएमबाट आफ्नो कला यात्रा सुरु गरेका उनी मुलतः कवि तथा कथाकार हुन् । साथै, उनी साहित्यिक पत्रकारिता र अनुवाद पनि संलग्न छन् ।
कार्कीका फुटकर रचनाहरू विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन भइरहन्छन् । उनको कथा ‘बाह्रखरी उत्कृष्ट कथा २०७९’ मा चयन भएको थियो भने लुम्बिनी विश्वविद्यालयले आयोजना गरेको कथा प्रतियोगितामा उनको कथाले ‘उत्कृष्ट कथा’को पुरस्कार प्राप्त गरेको थियो ।
कार्कीका कविता पुस्तकाकारका रूपमा संयुक्त कवितासङ्ग्रह ‘अनुहारको भीड’मा समेत सङ्ग्रहित छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।