
कर्णाली प्रदेशका १० जिल्लाका १४ वटा हिरासतमा पुस्तकालय स्थापना गरिने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरू गरेको ‘कारागारलाई किताब’ अभियानअन्तर्गत पुस्तकालय स्थापना गर्न लागिएको हो ।
अभियानअन्तर्गत कर्णालीका १० जिल्लाका जिल्ला प्रहरी कार्यालयसहित १४ वटा मुद्दा चल्ने प्रहरी कार्यालयमा १५ दिनभित्रमा पुस्तकालय स्थापना गरिनेछ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले १५ दिनभित्र हरेक प्रहरी हिरासतमा पुस्तकालय स्थापनाका लागि परिपत्र जारी गरेको छ । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरुमा सकारात्मक सोचको विकास गर्ने उद्दश्यका साथ हिरासतमा पनि पुस्तकालय स्थापना गर्न लागिएको हो ।
पुस्तकालयमा विभिन्न व्यक्तिका जीवन संघर्ष, साहित्य, कथा, कविता, जेल जीवन, राजनीतिक विचार, सिद्धान्त, व्यवसायिक सीप, उत्प्रेरणा, सकरात्मक सोचका विषयमा लेखिएका पुस्तकहरु रहने छन् । बिहीबार प्रदेश प्रहरी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै प्रहरी प्रमुख नायव महानिरीक्षक भिमप्रसाद ढकालले कारागार पुस्तकालयबाट प्रभावित भएर हिरासतमा पुस्तकालय स्थापना गर्न लागेको बताए ।
कारागार पुस्तक अभियान २३ चैत्र २०७५ मा साहित्यकारसमेत रहेका तत्कालिन प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहको संयोजकत्वमा सुरु भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

