नेपाली साहित्य समाज न्युजिल्यान्डको आयोजनामा न्युजिल्यान्डको क्राइस्टचर्चमा २१० औं भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।

समाजका अध्यक्ष डा. वीरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न उक्त समारोह कोषाध्यक्ष डा. शिवप्रसाद पोखरेलको संयोजनमा आयोजना गरिएको थियो । समाजका बरिष्ठ सल्लाहकार डा. भोला प्रधानले उद्घाटन गर्नु भएको सो कार्यक्रममा नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीका तर्फबाट कोषाध्यक्ष अमुल्य नेपालले र क्यान्टरवरी नेपालिज सोसाइटिका तर्फबाट उपाध्यक्ष जीवन अर्यालले शुभकामना मन्तव्य दिनुभएको थियो ।

समाजका कोषाध्यक्ष डा. शिवप्रसाद पोखरेल र सचिव गोपालप्रसाद कँडेलले संचालन गर्नु भएको सो कार्यक्रममा झण्डै ६० जना नेपाली भाषा र साहित्यप्रेमीहरूको उपस्थिति थियो ।

कार्यक्रममा समाजका सल्लाहकारहरू डा. भुवनेश्वर ढकाल, शैलेश कर्माचार्य, विष्णु पोख्रेल, सुमित्रा प्रधान, पदम अधिकारी, चिरञ्जीवीप्रसाद ढकाल, डा. ईश्वरी न्यौपाने, केपी रिजाल, जीवन अर्याल, डा. सरिता केसी, गोपाल पौडेल, गोपालप्रसाद कँडेल र गंगा सापकोटाले रचना वाचन गर्नु भएको थियो ।

बीचबीचमा नेपाली पोशाकमा सजिएका साना बाबुनानीहरूद्वारा प्रस्तुत नृत्यहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । नृत्य गर्ने कलाकार बाबुनानीहरूलाई समाजका कार्यसमिति सदस्य इन्दु काफ्लेले प्रशिक्षण गराउनु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष डा. वीरेन्द्र केसीले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।