लालबन्दी, असार २७ / लालबन्दी नगर वाङ्मय परिषद्ले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य राष्ट्रिय पुरस्कार’ का लागि पुस्तकहरू माग गरेको छ।
पुरस्कारका लागि छनोट गरिने पुस्तकहरू वि.सं.२०७८ सालपछि प्रकाशित भएका भाषा तथा साहित्यसँग सम्बन्धित हुनुपर्ने कुरा वाङ्मय परिषद्द्वारा प्रकाशित सूचनामा उल्लेख छ।
भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण गर्न लालबन्दी नगरपालिकाले लालबन्दी नगर वाङ्मय परिषद्को स्थापना वि.सं.२०७७ चैत १४ गते गरेको हो।
लालबन्दी नगर वाङ्मय परिषद् ऐन, २०७७ को परिधिमा रहेर स्थापित वाङ्मय परिषद्ले भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र सम्प्रवर्धनका क्षेत्रमा काम गर्दै आएको छ।
मधेश प्रदेशमा भाषा तथा साहित्यको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै गएको परिषद्ले गत वर्षको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य राष्ट्रिय पुरस्कार – २०७९’ महाकाव्यकार डा. नवराज लम्सालकृत ‘अग्नि’ महाकाव्यलाई प्रदान गरेको थियो।
यस पुरस्कारको राशि रुपैयाँ पचास हजार र प्रमाणपत्र रहेको छ।
‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार’ पनि वाङ्मय परिषद्ले गतवर्षदेखि प्रदान गर्दै आएको छ। यस पुरस्कारको राशि रुपैयाँ दश हजार र प्रमाण पत्र रहेको छ भने गतवर्ष स्थानीय सर्जक क्षितिज विश्वकर्मालाई प्रदान गरेको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।