लण्डन / बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद् यूकेद्वारा २१०औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ उत्साहवर्धकरूपमा मनाइयो ।

वेस्ट लन्डन, एक्टनस्थित एबिआई कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथा पुरस्कार वितरण गर्नुहँदै समारोहका प्रमुख अतिथि परिषद्का पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्नुका साथै बेलायतमा नेपाली भाषा साहित्यको विकासमा वरिष्ठ साहित्यकार सुरशजङ्ग शाहले नेपाली साहित्य विकास परिषद् युकेको स्थापना गरेर विशिष्ट योगदान र इतिहास रचेको चर्चा गर्नु भयो ।

आफ्ना सिर्जनाहरूद्वारा समाजलाई परिवर्तनतर्फ उन्नमुख गराउने शाह लगायतका सर्जकहरूको सम्मान गर्न पाउँदा खुसी लागेको चर्चा गर्नुहुँदै राजदूत आचार्यले कथाकार हरिसिंह थापाको आज आदिकविको जन्मदिनको अवसर पारेर विमोचन गरिएको यस ‘मेलिनाको डायरी’ कथासङ्ग्रहले समाजको विकासमा महत्त्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गर्नु भयो ।

समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पार्नुहुँदै परिषदका प्रमुख सल्लाहकार यती नेपाली एसोसिएसन युकेका पूर्व अध्यक्ष डा.राघवप्रसाद धितालले त्यसबेला अत्यन्त अविकसित समाज रहेको इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको लहर चलाए, त्यो आफैँमा एक साहासिक कदम थियो र जसले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्नमा महत्त्वपूर्ण योगदान पु-याएको चर्चा गर्नुभयो । डा.धितालले परिषद्का संस्थापक वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले बेलायतमा नेपाली साहित्यको सौन्दर्य फैलाउन आफ्नो सिङ्गो जीवन गुजारेको चर्चा गर्नुहुँदै यसको तुलनामा शाहलाई जति सम्मान गरे पनि कमै पर्ने विचार व्यक्त गर्नु भयो ।

सभापतिको आसनबाट बोल्नु हुँदै परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद युकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा गर्नुहँदै नेपाली पहिचान युगयुगसम्म जीवन्त राख्न हाम्रो भाषा साहित्य संस्कृति जस्ता चिनारीहरू जोगाउँदै लैजानु पर्ने औचित्यतर्फ प्रकाश पार्नुभयो ।

अध्यक्ष मल्ले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद्को स्थापना र सन् १९९२ बाटै समाचार पत्रिकाहरू प्रकाशन गरेर परिषद्का संस्थापक वरिष्ठ साहित्यकार एवम् पत्रकार सुरेशजङ्ग शाहले नेपाली साहित्यका सर्जक र सिर्जनाहरू उम्रने खेती बेलायती माटोमा झण्डै विगत तीन दशक समयदेखि अनवरतरूपमा गर्दै आएको चर्चा गर्नु भयो । शाहले बेलायतमा साहित्यिक माहोलको सुरूवात गरेर एउटा संवेदनशील इतिहासको अगुवाई गरेको चर्चा गर्नु भयो ।

यसअघि परिषद्का पूर्व अध्यक्ष तथा बिबिसी नेपाली सेवाका पूर्व संचालक खगेन्द्र नेपालीले आदिकवि भानुको योगदान र प्रेरणा नेपाली समाजमा अभिन्नरूपले भिजेको छ भन्नुहुँदै नेपाली साहित्य विकास परिषद्ले बेलायतमा भानुको सम्मान र कीर्तित्व फैलाउने कार्य परिषद्को स्थापनाकालदेखि नै निरन्तर गर्दै आएको चर्चा गर्नुभयो ।

समारोहमा नेपालबाट पाल्नु भएका अतिथि गीतकार, सङ्गीतकार एवम् गायक शिव हमालले बेलायतमा आएर यसरी नेपाली साहित्य सङ्गीतमा लागिपर्ने मान्छेहरूको ठूलो जमात देख्दा आफूलाई खुसी लागेको चर्चा गर्नुहुँदै आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गर्नु भयो । यसैगरी समारोहमा विश्व नेपाली साहित्य महासंघका पूर्व केन्द्रीय महासचिव कवि केदार सङ्केत र साहित्य चौतारी युकेका संयोजक साहित्यकार वासु शर्माले आदिकविको योगदानबारे कविता वाचनका साथ आफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसअघि कार्यक्रम सञ्चालन गर्नुहुँदै परिषद्की सह-अध्यक्ष डा.सुधा श्रेष्ठले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो । डा. श्रेष्ठले विमोचित पुस्तक मेलिनाको डायरी कथासङ्ग्रहबारे संक्षिप्त चर्चा गर्नुहुँदै ‘मेलिनाको डायरी’ कथासङ्ग्रहमा वरिष्ठ लेखक हरिसिंह थापाले बेलायत र नेपालको सामाजिक विषयवस्तुलाई केलाउने प्रयत्न गर्नु भएको छ भन्नुभयो ।

यस अघि स्वागत मन्तव्य दिनुहुँदै परिषद्का सहअध्यक्ष रेशम अर्यालले जसरी समग्रमा नेपाली भाषा साहित्यका कुरा आउँदा हामी सधैँ आदिकवि भानुभक्तलाई सम्झने गर्दछौ र त्यसरी नै बेलायतको परिप्रेक्षमा नेपाली साहित्यको कुरा आउँदा नेपाली साहित्य विकास परिषद् र यसका संस्थापक सुरेशजङ्ग शाहलाई सम्झने गर्दछौँ भन्नुभयो । सहअध्यक्ष अर्यालले यसर्थ नै आज परिषद्का संस्थापक वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहलाई स्वर्ण पदकबाट सम्मान गर्दा हामी सबैलाई गर्व लागेको छ भन्नुभयो ।

आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण र मंगलधुनबाट आरम्भ भएको समारोहमा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिंह थापाले भानुभक्तका रामायणका श्लोकहरू वाचन गर्नु भएको थियो भने परिषद्का वरिष्ठ कोषाध्यक्ष तथा कवि कलाकार मनोज अन्जानले मंगल धुन प्रस्तुत गर्नु भएको थियो । साथै अतिथि गायक शिव हमालले सुमधुर लोकगीत गाउनु भएको थियो ।

समारोहमा प्रमुख अतिथि परिषद्का संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले हाल बेलायतको भ्रमणमा रहनु भएका नेपालका गीतकार, सङ्गीतकार तथा गायक अतिथि शिव हमाललाई र कोसेली नेपाली संस्कृतिक परिवार युकेका नवनिर्वाचित अध्यक्ष रुवी थापालाई खाता ओढाई सम्मान अभिनन्दन गर्नुभएको थियो ।

यसैगरी महामहिम राजदूत आचार्यले विगत झण्डै तीन दशक समयदेखि बेलायतमा नेपाली भाषा साहित्य पत्रकारिता र समाजसेवा निरन्तर योगदान पु-याउँदै आउनु भएका परिषद्का संस्थापक वरिष्ठ साहित्यकार, पत्रकार, तथा समाजसेवी सुरेशजङ्ग शाहलाई एक तोला सुद्ध सुन र पाँच तोला सुद्ध चाँदीमा बनेको एनएलडिसी स्वर्ण पदक प्रथम पुरस्कार र नइ प्रकाशन नेपालबाट प्रदान गरिएको नइ कीर्ति अलङ्कार पदक सुशोभन गराउनु भएको थियो साथै राजदूत आचार्यले नइ कीर्ति अलङ्कार पदकबाट विभूषित हुनुहुने परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ल र पूर्व अध्यक्ष हरिसिंह थापालाई पनि सुशोभन गराउनु भएको थियो ।