भद्रपुर / भद्रपुर ७ गार्मेन्ट चौक निवासी स्वर्गीय तुलसीप्रसाद ढकालद्वारा लिखित सुब्बा विष्णुलाल जीवनयात्रा र शाखा सन्तान विस्तार नामक पुस्तकको विमोचन गरिएको छ ।

आफ्नै जीवनकालमा प्रकाशन गरी सार्वजनिक गर्ने लक्ष्य राखेका लेखक तुलुसी ढकालको पुस्तक लेखिसकेपछि प्रकाशनको तयारीमा रहेकै बेला अचानक निधन भएपछि वार्षिक पुन्यतिथिको अवसरमा छोराहरूले प्रकाशन गरिदिएका हुन् ।

आफ्ना बुवाद्वारा लिखित पुस्तकको विमोचन ठूलोबुवा खगेन्द्रप्रसाद ढकालवाट विमोचन गराइएको हो ।

यस पुस्तकका प्रकाशक लेखकका छोरा भेषराज ढकाल रहेका छन् भने यो पुस्तक कभर पृष्ठ सहित ९२ पृष्ठको रहेको छ । चार खण्डमा विभाजित यस पुस्तकको पहिलो खण्डमा सुव्वा विष्णुलालको जीवनी र काम, दोश्रो खण्डमा वंश विस्तार, तेश्रो खण्डमा केही सान्दर्भिक रचना, र चौथो खण्डमा ढकाल परिवारका दुर्लभ तस्वीर समेटिएको छ । यो पुस्तक युनिक अफसेट प्रेस विर्तामोडमा छापिएको थियो भने अग्रज पत्रकार गोपाल गिरीले सम्पादन गरेका हुन् ।

यो पुस्तक, ढकाल परिवारसँग सम्वन्धित देखिए पनि यसले सुव्वा विष्णुलालका समयमा र त्यसअघि अर्थात नेपाल एकीकरण ताकादेखिको केही इतिहास, सिद्धपुरबाट चिनिएको ठाउँ भोजपुर भएको किंबदन्ती, भोजपुरको भौगौलिक, सामाजिक, जात जाति र साँस्कृतिकका साथै धार्मिक इतिहास पनि जान्न मद्दत पुग्ने भएकाले अरुका लागि पनि जानकारीमूलक रहेको जनाइएको छ ।