नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले बैतडीका मूर्तिकार जयबहादुर पार्कीलाई सहयोग गरेको छ । काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत् पार्कीलाई राष्ट्रिय प्रतिभा उपचार कोषअन्तर्गत प्रज्ञा–प्रतिष्ठानले ५० हजार सहगोग गरेको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरू अस्पतालमै पुगेर मूर्तिकार पार्कीलाई सहयोग गरेका हुन् ।

वैशाख अन्तिम साता अचेत अवस्थामा भेटिएका काष्ठ कलाकर्मीका रूपमा परिचित बैतडीको दोगडाकेदार गाउँपालिका–८ का ३९ वर्षीय पार्कीको वीरमा उपचार जारी छ । करिब एक महिना सेती प्रादेशिक अस्पताल कैलालीमा उपचार गराए पनि सुधार नहुँदा थप उपचारका लागि वीर अस्पताल ल्याइएको हो ।

हालसम्म विभिन्न सामाजिक अभियान्ताहरूको मद्दतमा उपचार खर्च उठेको र अझै पनि एक महिनासम्म अस्पतालमै बस्नुपर्ने बताइएको छ । थप उपचारका लागि पनि आर्थिक सहयोगको अपिल गरिएको छ।

आर्थिक सहयोग गर्नुहुने सबैलाई परिवारका सदस्यले कृतज्ञता प्रकट गरेका छन् । आफन्तहरुले राज्यका तीनै तहबाट समेत उपचार खर्चको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

पार्कीले दर्जनौँ मन्दिरमा देवीदेवताका मूर्ति, टुँडाल तथा चित्रकला बनाइसकेका छन् । उनी काठ, सिमेन्ट र धातुका मूर्ति बनाउने गर्थे।