उदयपुरको गाईघाटमा गत असार १६ गते नेपाल वाङ्मय प्रतिष्ठान उदयपुरको आयोजनामा “वर्तमान सन्दर्भमा जनसाहित्य प्रवर्द्धनमा प्रज्ञा प्रतिष्ठानको भूमिका” विषयमा अन्तरक्रिया आयोजना गरियो ।
कोशी प्रदेशका चौध जिल्लाका साहित्यिक स्रष्टाहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष वरिष्ठ पत्रकार तथा लेखक कौशल चेम्जोङले गर्नुभएको थियो भने प्रमुख अतिथिको आशनबाट नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सारगर्वित विचारहरू राख्नु भएको थियो ।

संस्थाका महासचिव पुण्य कार्कीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा डा. रणशेर राई स्मृति फाउण्डेसनका अध्यक्ष महेन्द्रकुमार राईले स्वागत मन्तव्य दिनुभएको थियो ।

विशेष अतिथिको रुपमा वरिष्ठ गायक तथा स्रष्टा गणेश रसिक, अतिथिको रुपमा प्राज्ञ सभा सदस्य द्वय चेतनाथ धमला, मुनाराज सेर्मा, साहित्यकार शरण राई रहनु भएको थियो ।

विषयवस्तुमाथि आआफ्ना धारणा र जिज्ञासा राख्ने क्रममा विभिन्न जिल्लाबाट पाल्नु भएका स्रष्टाहरुले खुल्लारुपमा विचारहरू राख्नुभएको थियो ।

यस क्रममा संखुवासभाका ताराबहादुर बुढाथोकी, राजेन्द्र सर्वहारा, मोरङका टंकनाथ दाहाल, लक्ष्मी रायामाझी, उदयपुरका गोठकृष्ण ठकुरी, केदार कार्की ताप्लेजुङका चन्द्र मादेन, तेह्रथुमकी सुषमा दाहाल र रेजिना अपागाई लगायतका स्रष्टाहरुले प्रतिनिधिमूलक ढंगबाट मोफसलका सर्जकहरूका समस्या र जिज्ञासा राख्नुभएको थियो ।

प्रमुख अतिथि कुलपति राईले जनसाहित्य प्रवर्द्धनमा प्रज्ञा प्रतिष्ठानको भूमिकामाथि प्रकाश पार्दै पछिल्लो समयमा प्रज्ञा प्रतिष्ठानले गरेका महत्त्वपूर्ण निर्णय र कामहरूको चर्चा गर्नुभएको थियो । नेपालका सबै भाषाभाषीको साहित्य प्रवर्द्धनमा प्रतिष्ठान कटिबद्ध रहेको स्पष्ट गर्नुभएको थियो । चौध जिल्लाका सर्जकसित यस किसिमको अन्तरक्रियात्मक कार्यक्रम गरेर नेपाल वाङ्मय प्रतिष्ठान उदयपुरले साहित्यको क्षेत्रमा एक नयाँ चेतनाको अभिसञ्चार गरेको छ ।