डा. भोला रिजालको ‘सेतो कोट’ लोकार्पण भएको छ । इटर्नल पब्लिकेसन प्रा.लि.को आयोजनामा सम्पन्न एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलगायत चिकित्सकहरूले पुस्तकको लोकार्पण गर्नुभएको हो ।
वरिष्ठ स्त्री तथा प्रसूति रोग विज्ञ डा. भोला रिजालले लेख्नुभएको पुस्तक सेतो कोटको विमोचन गर्दै मन्त्री बस्नेतले आउँदो वर्षदेखि सेतो कोटधारी चिकित्सक र स्वास्थ्यकर्मीको सम्मानमा सेतो कोट दिवस मनाइने बताउनुभयो ।
विश्वका अधिकांश देशका चिकित्सकहरुको सम्मानमा सेतो कोट दिवस मनाइने प्रचलन छ, तर नेपालमा नभएकोले त्यसको सुरुवात गर्न सके चिकित्सा क्षेत्रमा प्रोत्साहनको नयाँ अध्याय सुरु हुनसक्ने सुझाव विज्ञहरूबाट प्राप्त भएपछि मन्त्री बस्नेतले मन्त्रालयले चाँडै सेतो कोट दिवस मनाउने विषयमा विज्ञहरूसँग थप सल्लाह लिएर निर्णय गरिने जानकारी दिनुभयो ।
समारोहमा पुस्तकका लेखक डा. भोला रिजालले आफूले सिकेका, बुझेका र अनुभव गरेका कुरा पुस्तकमा समावेश गरिएको र यसका माध्यमबाट नयाँ पिढीले केही सिकून् भन्ने अभिप्रायले सेतो कोट लेखिएको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष ९८ वर्षीय डाक्टर गौरिशंकरलाल दासले शुभकामना दिँदै आफ्नो समयको उपचार अनुभव सुनाउनु भएको थियो ।
त्यसैगरी पुस्तकको सफलताको शुभकामना दिँदै कलाकार निखिल उप्रेती, डा. जागेश्वर गौतम तथा डा. सुरेन्द्र केसीलगायतले पुस्तकमाथि चर्चा गर्नुभएको थियो ।
डा. भोला रिजालको ’सेतो कोट’ चिकित्सकको कर्म, धर्म र मर्म बुझाउने एउटा सरल तर गहन पुस्तक हो । यो पुस्तकमा चिकित्सा पेशा, चिकित्सा शिक्षा र चिकित्सा आचार–संहिताबारे साङ्गोपाङ्ग विवेचना गरिएको छ । कुनै व्यक्तिले पढेर डिग्री हासिल गर्दैमा मात्र उ योग्य चिकित्सक हुने हो वा त्यसका लागि उसमा अतिरिक्त गुणहरू पनि हुनुपर्छ भन्नेबारे पुस्तकमा उल्लेख गरिएको छ ।
इटर्नल पब्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको यो पुस्तक १४८ पृष्ठको छ । ३७५ रूपैयाँ मूल्यको यो पुस्तकको बिक्रीबाट प्राप्त रकमको निश्चित हिस्सा समाजसेवामा लगाइने लेखकको प्रतिबद्धता छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।