कैलाश कोइरालाको उपन्यास ‘राजव्यूह’ लोकार्पण गरिएको छ । भरतपुरमा आयोजना गरिएको एक कार्यक्रममा लेखककी आमा पार्वती कोइरालासहित प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशी, पूर्व गृहराज्यमन्त्री इन्द्र बानियाँ र डा. नवराज लम्सालद्वारा उपन्यासको विमोचन गरिएको हो ।

विमोचन कार्यक्रममा बोल्दै कवि नवराज लम्सालले राजव्यूह पठनीय र संग्रहणीय कृति रहेको बताउनुभयो । ‘समाज, समय र संवेदना भए साहित्य बलियो हुन्छ, यो किताबमा यी कुरा पाइन्छन्’, उहाँले भन्नुभयो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले कोइरालाको विद्यार्थी राजनीतिका बारेमा तथा भोजराज अधिकारीले राजव्यूहमा उठान गरिएको राजनीतिक विषयको चर्चा गर्दै चितवनको राजनीतिमा कोइरालाले निभाएको भूमिका स्मरणयोग्य भएको बताउनु भयो ।

नेपाली कांग्रेसका पाका नेता कृष्णलाल सापकोटाले लेखकका पिता मनहरि कोइरालाको राजनीतिक यात्राको चर्चा गर्दै राजनीतिमा होमिएका परिवारको किताब आउनु खुसीको कुरा भएको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङले चितवनको राजनीतिमा कोइराला परिवारको योगदानको चर्चा गर्नुभयो ।

लेखकका दाइ विकास कोइरालाले राजनीतिमा इमानदारी र हस्तक्षेपकारी भूमिका आवश्यक भएको बताउनुभयो ।

वामबुद्धिजीवी प्रेम रिमालले राजव्यूह राजनीतिकर्मी कोइरालाको अनुभूतिको सुन्दर सँगालो भएको तर किताबमा कम्युनिस्टप्रति व्यक्त गरिएका केही धारणाप्रति भने सहमत हुन नसकिने मत राख्नुभयो ।

साहित्यकार उदय अधिकारीले राजव्यूह उपन्यास दार्शनिक चेतले भरिएको र प्रस्तुतिमा प्रष्टता उपन्यासको विशेषता भएको बताउनु भयो ।

नेपाली कांग्रेसको राजनीतिमा चर्चित कोइरालाको उक्त उपन्यास आरती शर्मा कोइरालाले प्रकाशन गर्नुभएको हो । सम्पूर्ण किताब वितरक रहेको पुस्तकको मूल्य बाक्लो गाताको १००० र पातलो गाताको ५०० रुपैयाँ छ ।