
चतरा साहित्यिक मञ्चले कवि प्रकाश दिप्सालीलाई नगद राशिसहित सम्मान गरेको छ । बराहक्षेत्र नगरपालिका- २ वडा कार्यालयको सभाहलमा दिप्सालीलाई नगद राशि १० हजार १ सय १ रुपैयाँ, सम्मान पत्र तथा फेटा गुथाएर सम्मान गरिएको हो ।
बराहक्षेत्र नगरपालिका- ३ का स्थायी बासिन्दा दिप्साली नगरको प्रतिनिधित्व गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंद्वारा आयोजित ६६ औँ राष्ट्रिय कविता महोत्सव, २०८० मा सहभागी जनाएर विजेता बनेका थिए । दिप्सालीले बराहक्षेत्रको नाम साहित्यिक क्षेत्रबाट संसारभरका नेपालीभाषीमाझ उच्च बनाएकामा मूल्यांकन गर्दै सम्मान गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ६६ औं राष्ट्रिय कविता महोत्सवमा २५ कवितामध्ये कवि दिप्साली उत्कृष्ट १० मा परेका थिए ।
बराहक्षेत्र-२ का चर्चित साहित्यकार, कवि प्रह्लाद पहरेदारले दिप्सालीको जीवनी, साहित्यिक यात्रा र बराहक्षेत्रको साहित्यिक क्षेत्रको विगत र हालको अवस्थाबारे चर्चा र परिचर्चा गरेका थिए।
उक्त कार्यक्रममा दिप्सालीले आफू विजेता भएको ‘नौरानको नाम’ कविता वाचन गर्दै अन्य ७ वटा कविताहरू प्रस्तुत गरेका थिए। कवि राज माङ्लाकले दिप्सालीका कवितामाथि टिप्पणी गरेका थिए।
कार्यक्रममा रियालिटी सो ‘द पोइट आइडल’की प्रतियोगी कवयत्री छबिना लुंगेली मगर, विमला श्रेष्ठ, कवि आर्यन निरौलाले दिप्सालीले कविता वाचन गरेका थिए।
सम्मानित कवि दिप्साली स्वर्णिम साहित्य समाजका अध्यक्ष हुन् । उनी लामो समयदेखि साहित्य क्षेत्रमा समर्पित भई साहित्यिक गतिविधि सक्रिय रहँदै आएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

