संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वर्ष ०७९ का लागि विभिन्न पुरस्कारको घोषणा गरेको छ । मन्त्री स्तरीय निर्णय गर्दै संस्कृति प्रवर्द्धन कार्यक्रमअन्तर्गत ‘भाषा तथा साहित्य’, ‘सङ्गीत तथा नाट्य’, ‘संस्कृति’ र ‘ललितकला’ गरी चार विधामा राष्ट्रिय र प्रादेशिक स्तरका पुरस्कारहरूको घोषणा गरेको हो ।

मन्त्रालयले जारी गरेकाे विज्ञप्तिअनुसार भाषा एवम् साहित्यतर्फ ‘राष्ट्रिय प्रतिभा पुरस्कार—२०७९’  काठमाडौंका साहित्यकार नरेन्द्रराज पौडेललाई प्रदान गर्ने निर्णय गरिएको छ । भाषा साहित्यतर्फको ‘प्रादेशिक प्रतिभा पुरस्कार—२०७९’ कोसी प्रदेशबाट डिकप्रसाद वान्तवा, मधेस प्रदेशबाट सञ्जय साह, बागमती प्रदेशबाट डा. लोकबहादुर लोप्चन, गण्डकी प्रदेशबाट छायादत्त न्यौपाने (बगर), लुम्बिनी प्रदेशबाट शोभाराम चौधरी (शेखर दहित), कर्णाली प्रदेशबाट देवकी तिमल्सिना (समीक्षा) र सुदूरपश्चिम प्रदेशबाट भरतकुमार साउदलाई प्रदान गर्ने निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी, संस्कृतितर्फको ‘राष्ट्रिय प्रतिभा पुरस्कार—२०७९’ चितवन निवासी डी.आर. पोखरेल (डिल्लीप्रसाद पोखरेल) लाई प्रदान गरिएको छ भने ‘प्रादेशिक प्रतिभा पुरस्कार—२०७९’ कोसी प्रदेशबाट झुमा ओनेम लिम्बु, मधेश प्रदेशबाट रामप्रसाद शाह, बागमती प्रदेशबाट रविन्द्र तामाङ, गण्डकी प्रदेशबाट रामराज रेग्मी, लुम्बिनी प्रदेशबाट टिकाराम बुढामगर, कर्णाली प्रदेशबाट ओम रिजाल र सुदूरपश्चिम प्रदेशबाट नन्दलाल रानालाई प्रदान गरिएको छ ।

त्यस्तै, सङ्गीत तथा नाट्य विधातर्फको ‘राष्ट्रिय प्रतिभा पुरस्कार—२०७९’ खोटाङका शान्तिराम राईलाई प्रदान गरिएकाे छ भने ‘प्रादेशिक प्रतिभा पुरस्कार—२०७९’  कोसीबाट शेखर चापागाईँ, मधेसबाट सुनिल मल्लिक, बागमतीबाट भुवन दास श्रेष्ठ, गण्डकीबाट खिमबहादुर गौतम (आशिष अविरल), लुम्बिनीबाट जाेगेन्द्र के.सी., कर्णालीबाट फुलमाया राई (प्रगति हिङमाङ) र सुदूरपश्चिमबाट डम्बरबहादुर राेकायालाई प्रदान गरिएको छ ।

त्यसैगरी, ललितकला विधातर्फको  ‘राष्ट्रिय प्रतिभा पुरस्कार—२०७९’ भक्तपुरका रागिनी उपाध्यायलाई प्रदान गरिएको छ । त्यस्तै, ललितकलातर्फको ‘प्रादेशिक प्रतिभा पुरस्कार—२०७९’ कोसीबाट मञ्जुल बराइली, मधेसबाट रूवी कुमारी, बागमतीबाट जुलुमलाल चित्रकार, गण्डकीबाट ओम खत्री, लुम्बिनीबाट दुर्गाबहादुर भण्डारी, कर्णालीबाट कुनक्याप लामा र सुदूरपश्चिमबाट जयबहादुर शाहीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, मन्त्रालयले ‘योगमाया राष्ट्रिय पुरस्कार—२०७९’ भोजपुर कुलुङका साहित्यकार पवन आलोक कँडेललाई प्रदान गर्ने भएको छ ।