गाईघाट (उदयपुर), असार १९ / उदयपुर साहित्य कला प्रतिष्ठान गाईघाटले यही असार १७ र १८ मा दुई दिने साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।
दुई दिने कार्यक्रमको पहिलो सत्र असार १७ गते सोमबार प्रतिष्ठानद्वारा प्रकाशित माधव पोखरेल गोज्याङ्ग्रेद्वारा सम्पादित उदयपुर सौगात त्रैमासिक पत्रिका तथा भीम पौडेल घाँसेद्वारा लिखित उपन्यास झड्केलो छोरो, ऋषिकेश पोखरेलद्वारा लिखित तीन थान पुस्तक मेरा विविध आयामहरू, मेरा जीवनका मोडहरू र लघुकथा सङ्ग्रह रहर कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राई, विशिष्ट अतिथि त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेत, पूर्व प्रदेशसभा सदस्य अम्बिका थापा, लेखकद्वय पोखरेल र घाँसे, त्रियुगा जनता बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख रमेशचन्द्र रोका, कार्यक्रमको अध्यक्षता गर्नु भएका उ.सा. कला प्रतिष्ठानका अध्यक्ष डा.कैलाशकुमार राई लगायतकाले सामूहिक लोकार्पण गर्नुभयो ।
कार्यक्रममा लोकार्पित पुस्तक झड्केलो छोराको समीक्षा हरिविनोद खतिवडाले, मेरा विविध आयामहरूको समीक्षा सन्तोष थापाले, मेरा जीवनका मोडहरूको समीक्षा जे.बि. खड्का र लघुकथा सङ्ग्रह रहरको समीक्षा हर्कनारायण श्रेष्ठले गर्नु भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि कुलपति भूपाल राईले उदयपुर साहित्य कला प्रतिष्ठानले एकल भाषामा मात्र नभएर विविध भाषामा पत्रिका प्रकाशन गर्दा राम्रो हुने र यसले सबै भाषाभाषीहरूका कवि लेखक उत्साहित भएर लेखनमा लाग्ने बताउनु भयो ।
उक्त कार्यक्रममा प्राज्ञसभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव चेतनाथ धमला, पुण्य कार्की, रामचन्द्र आचार्य, अम्बिका थापा, ऋषिकेश पोखरेलद्वारा लिखित पुस्तकका प्रकाशक तुलसीप्रसाद पोखरेल, अर्जुन गुप्ता, उद्धव घिमिर, शैलेन्द्र खतिवडो लगायतका वक्ताहरूले शुभकामना मन्तव्यसहित रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रमको संचालन सरिता पौडेल गुरागाईंले गर्नु भएको थियो भने सो अवसरमा त्रियुगा संगीत विद्यालयका भाइबहिनीहरूले शैलेन्द्र खतिवडको शब्द र संगीतको गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।
यस्तै उ.सा.कला प्रतिष्ठानको दोस्रो दिनको कार्यक्रम भने साहित्यिक पर्यटन प्रवर्द्धनअन्तर्गत रौता पोखरी भ्रमणमा केन्द्रित थियो । प्रमुख अतिथि कुलपति भूपाल राई, प्राज्ञसभा सदस्य चेतनाथ धमला, रवीन्द्र तिम्सिना, ताराबहादुर बुढाथोकी, संझा दनुवार, रमेशचन्द्र रोका, महेन्द्र राई, बासु पोखरेल, उद्धव घिमिरे, हर्कनारायण श्रेष्ठ, चन्द्रनारायण चौधरी, विष्णु खड्का, सिर्जना सरोवर, डा. कैलाशकुमार राई, माधव पोखरेल गोज्याङ्ग्रे, विदुर खड्का, भीम पौडेल घाँसे,नन्दलाल आचार्य लगायतकाले रौता पोखरीको अवलोकन भ्रमण गर्नु भएको थियो ।
पोखरीको अवलोकन भ्रमणपश्चात रौतामाई गाउँपालिका वडा नं ६ वडा कार्यालयमा आयोजित साहित्यिक पर्यटन प्रवर्द्धनमा साहित्यिक पत्रकारहरूको भूमिका विषयक छलफल कार्यक्रम र कवि गोष्ठी भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि कुलपति भूपाल राईले साहित्यकारहरूले पर्यटन प्रवर्द्धन कार्यमा ठूलो भूमिका निर्वाह गर्न सक्ने बताउँदै साहित्यकारहरूले कविता, गीत, मुक्तक, कथा, निबन्ध, यात्रा संस्मरण लगायतका विधा उपविधामा कलम चलाउन सक्ने र यसकालागि स्थलगत अध्ययनले रचना प्रभावकारी हुने बताउनु भयो । उहाँले रौता पोखरीलाई उदयपुरको मात्र नभएर पूर्वको रारा भन्दा फरक नपर्ने र यसको भौतिक पूर्वाधार तथा संरक्षण संवर्द्धन गरेमा पर्यटकीय क्षेत्रको संभावना बोकेको पोखरीका रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रबहादुर थापाले रौता पोखरीको विकास तथा पर्यटन प्रवर्द्धन कार्यक्रममा गाउँपालिका निरन्तर लागिरहेको र पहिलेको तुलनामा अहिले पोखरीको स्वरुप परिवर्तन भएको बताउनु भयो ।
सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतले प्रकृति र संस्कृतिले रौतामाई गाउँपालिकालाई अथाह स्रोत दिएको तर त्यसको उचित संरक्षण हुन नसकेको स्वीकार्दै नेपालको झर्नाहरूमध्ये छैटौँ स्थानमा रहेको ओढारी झर्ना पनि रौतामाई गाउँपालिकाभित्रै रहेकाले पर्यटन प्रवर्द्धन कार्यक्रम प्राथमिकतामा राखेको र गाउँपालिकाले कृषि, पर्यटनका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको बताउनु भयो ।
यस्तै रौतामाई गाउँपालिका ६ नं वडाध्यक्ष पृथ्वीकुमार राईले रौता पोखरीको ऐतिहासिक महत्त्वका बारेमा जानकारी दिनु भएको थियो ।
उ.सा. कला प्रतिष्ठानका अध्यक्ष डा. कैलाशकुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष बासु पोखरेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले गर्नु भएको थियो ।
सो अवसरमा कविहरू उद्धव घिमिरे, संझा दनुवार, सिर्जना सरोवर, ताराबहादुर बुढाथोकी, महेन्द्र राई, विष्णु खड्का, हर्क नारायण श्रेष्ठ, माधव पोखरेल गोज्याङ्ग्रे लगायतका कविहरूले रौता पोखरीसम्बन्धी कविता वाचन गर्नुभएको थियो ।
गाईघाट, उदयपुरबाट माधव पोखरेल गोज्याङ्ग्रेको रिपोर्ट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।