
अनिस घिमिरेको अङ्ग्रेजी भाषाको उपन्यास “द स्टारडस्ट इन अस” लोकार्पण गरिएको छ । माइतीघरस्थित सेण्ट जेभियर कलेजको सभा हलमा आयोजित एक औपचारिक कार्यक्रमका बिच उपन्यासको लोकार्पण गरिएको हो ।
प्राडा. अभि सुवेदी, प्राडा. ईन्द्र कार्की, प्राडा. राजनप्रसाद पोखरेल र सेण्ट जेभियर कलेजका प्रिन्सिपल डा. फादर अगस्टिन थोमसले उक्त कृतिको विमोचन गरेका हुन् ।
कार्यक्रममा डा. सुवेदीले स्टार डस्ट युवाको कल्पना शक्तिको उपज भएको बताउँदै विषयवस्तु, पात्रहरुमार्फतको कथा आदिले लेखक अनिस सन्तुलनमा रहेर उत्कृष्ट कृति पस्कन सफल रहेको उल्लेख गरे । साथै, उनले पढ्दै जाँदा अनिसको कौतुहलपूर्ण र सिर्जनशील लेखनीले आफू बाँधिएको र नेपालमा प्रकाशित हुँदै आएका अन्य उपन्यासको दाँजोमा अनिसको कृति अब्बल भएको आफूले पाएको बताए ।
सो अवसरमा कृतिकार अनिस घिमिरेले जीवनको अर्थ पहिल्याउन दुई सजीव पात्रमार्फत् पृथ्वीलाई मात्र हेर्ने परम्पराभन्दा फरक अर्थात् तारासमेतलाई दृष्टिगोचर गरेर आफूले दोस्रो कृति रचना गरेको जानकारी दिएका छन् ।
साथै, उपन्यासकार घिमिरेले कलेज, अभिभावक र अन्य धेरैको सहयोगले आफू यस स्थानसम्म आपुगेको स्मरणका साथ सबैप्रति आभार व्यक्त गर्दै आफ्नो उपन्यास पनि समाजकै उपज भएको उल्लेख गरे ।
लोकार्पण कार्यक्रममा अनिसका आफन्तजन, सहपाठी, साहित्यप्रेमीलगायतको बाक्लो उपस्थिति रहेको थियो । उक्त उपन्यासको भाषाशैली र कथावस्तुमा मिठासपन रहेसँगै कृति उत्कृष्ट रहेको र युवाहरूसँगै अन्य उमेर समूहका लागि पनि पठनीय रहेको प्रकाशले दाबी गरेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

