अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा आगामी मङ्सिर १६ देखि २० (डिसेम्बर २ देखि ६) गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय जलरङ कला महोत्सव आयोजना हुने भएको छ।

समाजका अध्यक्ष एनबी गुरुङले एक पत्रकार सम्मेलनमार्फत उक्त महोत्सवको घोषणा गर्नुहुँदै स्वदेश र विदेशका कलाकारलाई औपचारिकरूपमा सहभागी हुन आह्वानसमेत गर्नुभयो ।

काठमाडौँ उपत्यकाको ऐतिहासिक सम्पदा, कला र संस्कृतिलाई थप प्रचारप्रसार एवं नेपाली कलाको विकास गर्ने मूल उद्देश्यका साथ महोत्सव आयोजना गरिएको र सो महोत्सवमा ४० देशका एक सय ५० भन्दा बढी कलाकारको प्रत्यक्ष उपस्थितिमा तीन सयभन्दा बढी कलाकृति प्रदर्शनी हुने जनाइएको छ ।

महोत्सवमा सामूहिक कला प्रदर्शनीका साथै हनुमानढोका, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, टोखा, बूढानीलकण्ठ लगायतका ऐतिहासिक ठाउँमा पुगेर यथास्थान चित्र सिर्जना, कलाको प्रत्यक्ष डेमोस्ट्रेसन र कलासम्बन्धी अन्तरक्रिया गरिने समाजका महासचिव दीपेन्द्रमान बनेपालीले बताउनुभयो ।

यस पटकको प्रदर्शनीको शीर्षक ‘महान् प्राचीन सभ्यता काठमाडौँ’ रहेको छ ।

सहभागी हुने कलाकारले काठमाडौँ उपत्यका शीर्षकमा नै चित्रहरू सृजना गरी प्रदर्शनीका लागि पठाउने छन् । यसले काठमाडौँ उपत्यकाको प्राचीन सभ्यतालाई अझ नजिकबाट नियाल्न सहयोग पुर्याउनुका साथै कला र पर्यटनको राजधानीको रूपमा विश्वमाझ अझ बढी चिनाउन मद्दत पुर्याउने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं समाजका उपाध्यक्ष लालकाजी लामाले बताउनुभयो ।

“कलासँगै पर्यटन” भन्ने मूल नाराका साथ स्थापना भएको समाजको उद्देश्यलाई साकार पार्न यो कार्यक्रमले मद्दत पुर्याउने विश्वास गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

अन्तराष्ट्रिय जलरङ समाज नेपालले स्थापनाकालदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाका महत्त्वपूर्ण कार्यक्रमहरू गर्दै आएको छ । समाजले सन् २०१६ र २०१८ मा काठमाडौँ र घान्द्रुक तथा काठमाडौँ र लुम्बिनीमा दुई पटक अन्तर्राष्ट्रिय कला महोत्सव सम्पन्न गरिसकेको छ । गत वर्ष भने पोखरा र घाचोकमा चारदेश (नेपाल, भारत, बङ्गलादेश र इरान) सम्मिलित ‘पोखरा आर्ट क्याम्प’ सम्पन्न गरिसकेको छ ।

यसका अतिरिक्त नेपाली कला र पर्यटनलाई प्रचारप्रसार गर्न विभिन्न मुलुकका कलाकारलाई नेपाल भ्रमण गराउने र नेपाली जनजीवन र प्राकृतिक सौन्दर्यलाई कलामा चित्रण गर्न प्रेरित गर्नुका साथै नेपाली कलाकारलाई विभिन्न मुलुकमा आयोजना गरिएको कलाका कार्यक्रममा सहभागी गराउँदै उनीहरूको क्षमता वृद्धि गराउने कार्यमा संस्था क्रियाशील हुँदै आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।