नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले तेह्रौँ प्राज्ञ सभाको समुद्घाटन सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण सभाहलमा असार १८ गते प्रतिष्ठानले तेह्रौँ प्रज्ञा सभाको समुद्घाटन गरेको हो ।
प्रभा सभाको समुद्घाटन माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । उक्त समारोहको अध्यक्षता नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले गर्नुभएको थियो ।
प्राज्ञ सभा समुद्घाटन समारोहमा बोल्दै राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले मन्त्रालयस्तरबाट प्रतिष्ठानलाई गर्नुपर्ने सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका लागि हल निर्माण गर्न मन्त्रालयमार्फत प्रधानमन्त्रीसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
कार्यक्रमलाई सम्बोधन गर्दै प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा समारोहका सभापति निशा शर्मा पाखरेलले सरोकारवाला सबैको सल्लाह र सुझाव प्रतिष्ठानलाई आवश्यक रहेको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘तपाईँहरूको सल्लाह र सुझावका आधारमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो नीति तथा कार्यक्रम बनाउन सभामा छलफल गर्नेछ र आफ्ना गतिविधिलाई अगाडि बढाउने छ ।’
समारोहमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले भाषा, संस्कृति र गीतसङ्गीतको संरक्षणमा सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा भाषा हरायो भने सो भाषासँग सम्बन्धित समाज नै हराउँछ । सबै समुदायको भाषा, संस्कृति तथा गीतसङ्गीतलाई उत्तिकै महत्त्वका साथ संरक्षण र संवर्धन गर्न सरोकारवाल ध्यान दिनुपर्छ ।’
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणले मात्रै देशमा समृद्धि हासिल हुने बताउनुभयो । नेपालको चालु आवधिक योजनामा स्रष्टा तथा प्राज्ञिक वर्गको सामाजिक रूपान्तरणमा खेल्ने भूमिकाको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘१६ औँ आवधिक योजना लेखनको कार्य सुरु भएकाले सुसंस्कृत समाज निर्माणका लागि स्रष्टाहरूले के कस्तो योगदान गर्न सकिन्छ भन्ने बारे तीनवटै प्रज्ञा प्रतिष्ठानबाट आफ्नो अनुभव र सुझाव साझा गर्न अनुरोध गर्छु ।’
समारोहमा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफूहरूलाई सरकारले प्रज्ञा प्रतिष्ठानमा दिएको जिम्मेवारी पूरा गर्न नसक्ने छुट नभएको बताउनु भयो । ‘चुनौतिपूर्ण समयमा एकीकृत भएर अगाडि बढ्नुको हामीसँग विकल्प छैन ।’, उहाँले भन्नुभयो ।
समारोहमा प्रतिष्ठानका उपकुलपति शम्भु राईले उपस्थित अतिथिहरूलाई स्वागत मन्तव्य राख्नुभएको थियो । स्वागत मन्तव्यको क्रममा उहाँले भन्नुभयो, ‘प्रतिष्ठानले १३ वर्षको अवधिमा विभिन्न आरोहअवरोह पार गर्दै अहिले काठमाडौँ नक्सालस्थित सरकारबाट प्राप्त पन्ध्र रोपनी जग्गामा अस्थायी आवास निर्माण गरी आफ्नो कार्य सञ्चालन गरिरहेको छ ।’
समुद्घाटन समारोहमा लुगुम्याल चेलीबेटी आमा समूहले पञ्चेबाजाको धुनले राज्यमन्त्रीको स्वागत गरेको थियो भने प्राज्ञ परिषद् सदस्य चेतन सापकोटा तथा वरिष्ठ गायक ओम श्रेष्ठले देशभक्तिको भावले ओतप्रोत गीत प्रस्तुत गर्नुभएको थियो ।
प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महराले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू, वरिष्ठ स्रष्टा कलाकारहरू, पत्रकारहरू तथा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रपश्चात नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभाको बन्दसत्र आयोजना गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।