०७९ सालको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ले प्राप्त गरेको छ । साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको अन्तिम सूचीमा रहेका बिक्रम भक्त जोशीको निकथासङ्ग्रह चोभार ब्लुज र दिला शाहको कथासङ्ग्रह अँध्यारो बस्तीकी नायिकालाई पछि पार्दै यशोधराले पुरस्कार हात पारेको हो ।

चर्चित साहित्यिक (इ) पत्रिका साहित्यपोस्टले डेब्यु कृतिलाई प्रदान गरिने वर्ष २०७९ को ‘साहित्यपोस्ट उत्तम काव्य, आख्यान तथा गैरआख्यान पुरस्कार’को घोषणा तथा वितरण कार्यक्रम सम्पन्न गरेको छ । धुम्बाराहीस्थित होटल अकमा प्रालिमा भएको एक समारोहका बिच पुरस्कारका संस्थापकद्वय उत्तमप्रसाद पन्त र उत्तम भौकाजीको उपस्थितिमा पुरस्कृत कृतिको घोषणा र पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो ।

घोषणाअनुसार ०७९ को ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’ले प्राप्त गरेको छ भने ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ डा. अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त ‘मुटुसँग सहयात्रा’ले प्राप्त गरेको छ ।

कार्यक्रममा पुरस्कृत कृतिहरूको घोषणा विधागत निर्णायकहरू केदार वाशिष्ठ (गैरआख्यान), शीतल दाहाल (आख्यान) र वासुदेव अधिकारी (काव्य) ले गर्नुभएको हो । उहाँहरूले सम्बन्धित पुस्तकलाई पुरस्कृत गर्नुको कारण तथा मूल्यांकनको आधारको बारेमा समेत प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा पुरस्कार विजेता कृतिका सर्जकहरूलाई पुरस्कारका संस्थापक उत्तमद्वय तथा कार्यक्रमका सभापति अश्विनी कोइरालाले ५०-५० हजार राशिका साथमा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । आख्यान र गैरआख्यान विधाको दुई पुरस्कारको प्रयोजन उत्तमप्रसाद पन्तले गर्नुभएको हो भने काव्य विधाको पुरस्कारको प्रायोजन उत्तम भौकाजीले गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै पुरस्कार संस्थापक उत्तमद्वयले साहित्यपोस्टको सर्वोत्तम कार्यमा जोडिएर साहित्य क्षेत्रका नवप्रवेशीलाई आफ्नो नामको पुरस्कार अर्पण गर्न पाउँदा खुसी महसुस गरेको बताउनुभयो ।

साहित्यपोस्ट उत्तम काव्य, आख्यान र गैरआख्यान, तीनै पुरस्कार आफ्नो पहिलो पुस्तक प्रकाशन गर्दै नेपाली साहित्य क्षेत्रमा औपचारिक पाइला चालेका नवप्रवेशीहरूमध्ये उत्कृष्ट ठहरिएका कृतिका सर्जकलाई प्रदान गरिन्छ । विक्रम सम्वत् २०७७ बाट नयाँ लेखकहरूलाई प्रोत्साहन गर्ने हेतुले सुरु गरिएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ ०७९ मा आइपुग्दा काव्य, आख्यान र गैरआख्यान गरी तीन विधामा फैलिसकेको छ ।

साहित्यपोस्टका सम्पादक महेश पौड्यालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन अच्युत कोइराला तथा कृष्ण ढुङ्गेलले सयुंक्त रूपमा गर्नुभएको थियो । उक्त समारोहमा साहित्य क्षेत्रमा मूर्धन्य तथा साहित्यानुरागी व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो ।