साहित्यपाेस्ट

चितवनको कविडाँडामार्फत् देशभर साहित्य प्रवर्द्धन गर्न खटिएको कविडाँडा साहित्य समाजले राष्ट्रिय कविता प्रतियोगिता गर्ने भएको छ । आफ्नो वार्षिक उत्सवको अवसर पारेर कविडाँडाले कविता प्रतियोगिता गर्न लागेको हो ।

भदौ १५ सम्म समय दिइएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ६० रुपैयाँ, दोस्रो हुनेलाई १० हजार ६० र तेस्रो हुनेलाई ७ हजार ५ सय ६० रुपैयाँ र प्रमाणपत्रसहित अभिनन्दन गरिने कविडाँडा साहित्य समाजले जनाएको छ ।

कविडाँडाका अनुसार कविता भदौ १५ सम्म kavidanda.sahitya@gmail.com मा पठाउनु पर्नेछ । त्यसैगरी कतै पनि प्रकाशन नभएको र दुई सय शब्दभन्दा कम शब्दमा लेखिसक्नु पर्ने नियम पनि बनाइएको छ । प्रतियेगितामा फेसबुक र युट्युबजस्ता सामाजिक सञ्जालहरूमा प्रकाशित–प्रसारित कविताहरूलाई पनि मान्यता नदिइने नियम बनाइएको समाजले जनाएको छ ।

‘कविताको मूल्याङ्कन तटस्थ र गोप्य निर्णायक मण्डलले गर्नेछ,’ कविडाँडा समाजका संरक्षक एलबी क्षेत्रीले भने, ‘छनोटमा परेका १० कविलाई मङ्सिर महिनामा कविडाँडाको वार्षिक उत्सवका अवसरमा, चितवनमा आमन्त्रित गरिनेछ । त्यही अवसरमा उत्कृष्ट तीन कविताको घोषणा पनि गरिनेछ ।’

कार्यक्रम अवधिभर खाना र निवासको व्यवस्था आयोजक समितिले गर्ने जनाइएको छ । नव प्रतिभाहरुलाई एक ठाउँमा राखेर साहित्यिक विमर्श गर्ने बहानाका रूपमा यसलाई लिइएको छ ।

गएको वर्ष पनि कविडाँडा समाजले राष्ट्रिय कथा प्रतियोगिताका साथमा देशका प्रतिष्ठित साहित्यिक व्यक्तित्वलाई निम्त्याएर भव्य कार्यक्रम गरेको थियो ।