नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले यस वर्षको ‘नूर–गङ्गा राष्ट्रिय बालसाहित्य पुरस्कार- २०७८’ पुरस्कार सर्जकहरूलाई समर्पण गरेको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा शिक्षाविद् प्राध्यापक केदारभक्त माथेमाले साहित्यकारहरू डा. गेहेन्द्रमान उदास पोखरेली र कन्हैया नासननीलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभएको हो ।

पुरस्कृत स्रष्टाहरूलाइ जनही ५० हजार नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

यसै गरी ३० हजार नगद राशिको ‘नूर–गङ्गा क्षेत्रीय लोकगायन प्रतिभा पुरस्कार–२०७८’ पाल्पाका लोकगायक पुष्कल शर्मालाई प्रदान गरियो । त्यस्तै, २५ हजार नगद राशिको ‘नूर–गङ्गा राष्ट्रिय लोकगायन प्रतिभा पुरस्कार–२०७८’ रामेछापका रामकुमार नेपालीलाई प्रदान गरियो ।

उक्त अवसरमा २० हजार नगद राशिको ‘नूर–गङ्गा क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार–२०७८’ नवलपरासीकी आयुष्मा तिवारीलाई प्रदान गरिएको थियो ।

समारोहमा गुठीमा सक्रिय पूर्वसदस्यहरू बाबुहरि ज्ञवाली, प्राडा तुलसीप्रसाद पाठक, प्राडा विनोदकुमार श्रेष्ठ तथा यज्ञप्रसाद शर्मा पोखरेललाई पनि सम्मान गरिएको थियो ।