
चलचित्र ‘काँडेतार’ले १० लाख रुपैँयाँ नगद पाएको छ । आउँदो वर्षको शिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको ‘काँडेतार’ले चलचित्र विकास बाेर्डबाट १० लाख रुपैँयाँ नगद पाएको हो ।
‘काँडेतार’ले नेपाल सरकार, चलचित्र विकास बोर्डद्वारा सञ्चालित स्टोरी बैंकमा छनौट भएसँगै सो रकम जितेको हाे । रकम चलचित्र विकास बोर्डको २३ औँ वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको थियो ।
गत वर्ष सञ्चालित स्टोरी बैंकमा कार्यक्रममा ‘काँडेतार’लाई विजेता घोषणा गरिएको थियो ।
निर्देशक, निर्माता तथा कलाकारसमेत रहेका नवल खड्काले सरकारले नगद प्रदान गरेको खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘सामना फिल्मस्द्वारा निर्मित काँडेतारको कथालाई उत्कृष्ट कथाको छनोट गरी आर्थिक सहयोग/ सहकार्य बापत रु. दश लाख (१०,००,०००) नेपाल सरकारका मन्त्रीमार्फत पाएकोमा खुसी व्यक्त गर्दछु । यस घडीमा देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित चलचित्रलाई नेपाल सरकारले यसरी सहयोग गर्नु सबै देशभक्त अभियन्ता तथा नागरिकहरुको सम्मान साथै स्वदेशी चलचित्रको प्रवर्धन भएको मैले महसुस गरेको छु। यस कार्यमा चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष श्री दयाराम दाहाल, वर्तमान अध्यक्ष भुवन केशी, निवर्तमान तथा वर्तमान बोर्ड सदस्यहरु, र स्टोरी बैंकका छनोट समितिबाट प्राप्त भएको सकारात्मक भावप्रति कृतज्ञता जाहेर गर्दछु ।’
सीमामा काँडेतार लगाएर सीमाको रक्षा गर्नुपर्ने विषय उठाइ बनेको चलचित्र ‘काँडेतार’मा नवल खड्का आफैँ शीर्ष भूमिकामा छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

