पोखरा / असार पन्ध्र अर्थात् किसान दिवसका अवसरमा शुक्रबार पोखराका ‘मजदुर कवि’ इन्द्र राना प्रतीकको एकल कविता वाचन गरिएको छ। स्थानीय पुछारसिटे अभियानले दही चिउरासँगै कविता कार्यक्रम आयोजना गरेर प्रतीकलाई मञ्चमा उभ्याएको हो। कार्यक्रममा प्रतीकले १० ओटा कविता सुनाउनुभयो ।

कविताको रचना गर्भसहित प्रभावशाली ढंगमा उहाँले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले प्रतीकका कवितामा सामाजिक यथार्थ र देशप्रेम झल्किएको बताउनुभयो । पोखराका नयाँपुराना लेखकहरूमाझ प्रतीकले आफ्ना रचना वाचन गर्नुभएको थियो । यसअघि वैशाख १८ गते काठमाडौंमा कन्सेप्ट नेपालले उहाँको पहिलो एकल वाचन कार्यक्रम आयोजना गर्नुका साथै पहिलो कवितासंग्रह ‘भुइँमान्छेका कविता’ लोकापर्णसँगै ५१ हजार रुपैयाँसहित सम्मान गरेको थियो।

पोखराको कार्यक्रममा कवि एवम् उपन्यासकार गनेस पौडेलले प्रतीकका २५ हजार रुपैयाँ बराबरका कविताकृति खरिद गरी सम्मान गर्नुभएको थियो । अभियानका सल्लाहकार इश्वरमणि अधिकारीले सम्मानपत्र हस्तान्तरण गर्नुभयो भने अभियानका संयोजक सञ्जीव पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो । कार्यक्रमको शुरुवातमा कवि इन्द्र रानाको बारेमा कन्सेप्ट नेपाल काठमाण्डौको तर्फबाट तयार गरेको बृत्तचित्र प्रदर्शन गरिएको थियो ।

जीवनभर मजदुरी गर्दै आउनुभएका कवि प्रतीक ६० वर्षको हुनुभयो । उहाँले कहिले सेती नदीका बालुवा चाल्नुभयो, कहिले घर बनाउने ज्यामी हुनुभयो, गत पुसदेखि भने पोखराको विन्ध्यवासिनी मन्दिरमा तीर्थालुका लागि नरिवल फुटाउने र प्रसाद बनाउने काम गर्दै आउनुभएको छ ।

आफ्ना रचनामा मजदुरका कथाव्यथथा लेख्दै आउनुभएका र जीवनभर मजदुरी गरेकाले जनस्तरबाट उहाँले ‘मजदुर कवि’को उपमा पाउनुभएको हो । काठमाडौंमा एकल वाचन कार्यक्रम गरेपछि उहाँको चर्चा चुलिएसँगै उत्साहसमेत बढेको छ। उहाँले पोखरा र दमौलीबाट पनि सम्मान प्राप्त गरिसक्नु भएको छ ।