अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी च्याप्टरको आयोजनामा साहित्यकार शरद निरौलाको प्रकाशित पुस्तक ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ नियात्रासंग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
२४ जुनमा भएको उक्त कार्यक्रममा पुस्तकको समीक्षासमेत गरिएको छ । सो कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी च्याप्टरको संयोजनमा भर्जिनिया राज्यको आर्लिङटनमा रहेको केन्द्रीय पुस्तकालयमा सम्पन्न गरिएको हो । साहित्यकार कृष्ण धरावासीले शरद निरौला लेखनमा नयाँपन दिनसक्ने सशक्त प्रतिभा हुन् भन्ने कुरा प्रमाणित भएको बताउनुभयो ।
कृतिको समीक्षात्मक टिप्पणी गर्दै समीक्षक वसन्त श्रेष्ठले लेखकले कृतिमा आफ्नो लेखकीय शैली उत्कृष्ट रूपमा प्रस्तुत गरेको बताउनुभयो ।
समीक्षक लेखनाथ भन्डारीले समग्रमा कृति पठनीय रहेको बताउनुभयो भने समीक्षक प्रेम सङ्ग्रौलाले कृति साँच्चिकै मार्गदर्शक रहेको धारणा राख्नुभयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाज डी सी च्याप्टरको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा च्याप्टरका वरिष्ठ उपाध्यक्ष रजनी श्रेष्ठको अध्यक्षता रहेको थियो । महासचिव नीलकण्ठ सुवेदी र साहित्यकार परसु तिमिल्सिनाले संयुक्त रूपमा सञ्चालन गरेको सो कार्यक्रममा संस्थाको तर्फबाट सदस्य जगन्नाथ पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी मेट्रो च्याप्टरका पूर्व अध्यक्षसमेत रहेका शरद निरौलाको यो नवौं कृति हो । यात्रामा आधारित उक्त पुस्तक दायित्व वाङ्मय प्रतिष्ठान, काठमाडौंले प्रकाशन गरेको छ ।
कार्यक्रममा डीसी मेट्रो क्षेत्रका साहित्यकार, समाजसेवी र साहित्यानुरागी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।